गोसाइँकुण्डमा जनैपूर्णि लक्षित गोताखोर परिचालनको माग

जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्न हजारौँ भक्तजनहरूको आगमन हुनेक्रममा सुरक्षालाई मध्यनजर गर्दै गोताखोर टोलीसहित डुङ्गाको व्यवस्था गर्नुपर्ने माग तीव्र रुपमा उठेको छ।
साउन ११ गते मोरङका दुई युवा गोसाइँकुण्डमा डुबेर ज्यान गुमाएको घटनाले गम्भीर चासो उत्पन्न गराएको छ। सो घटनाबाट पाठ सिक्दै रसुवाका नागरिक समाजका अगुवाहरूले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोकमा पुगेर आकस्मिक उद्धारको व्यवस्था गर्न आग्रह गरेका हुन्।
प्रत्येक वर्ष जनैपूर्णिमा पर्वको अवसरमा साउनको एकादशीदेखि भक्तजनहरू पवित्र गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्न पुग्ने परम्परा छ। भीडभाड र जोखिम बढ्ने यस्ता अवसरमा सम्भावित दुर्घटनाबाट जनधनको क्षति रोक्न उद्धार टोलीको उपस्थितिलाई अत्यावश्यक मानिएको छ।
कुण्डको पानी अत्यन्त चिसो हुनुका साथै केही भाग निकै गहिरो भएकाले डुब्ने जोखिम उच्च रहेको नागरिक समाजले जनाएको छ। यसअघि त्रिशूली नदीको दोभान बेत्रावतीमा सशस्त्र प्रहरीले डुङ्गासहित गोताखोर टोली परिचालन गरेझैँ, गोसाइँकुण्डमा पनि त्यही किसिमको व्यवस्था गर्न आग्रह गरिएको छ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोसाइँकुण्ड क्षेत्रमा मात्र होइन, बाटोमा पर्ने जङ्गल क्षेत्रहरूमा यात्रुहरू हराउने, चोटपटक लाग्नेजस्ता समस्याहरू पनि दोहोरिइरहेका छन्। यस्ता समस्याको दीर्घकालीन समाधानका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड क्षेत्र विकास समितिले संयोजनमा पहल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
स्थानीय फूर्पाठिले तामाङले समेत गोसाइँकुण्डको धार्मिक तथा पर्यटकीय यात्रा सुरक्षित बनाउन राज्यस्तरबाट नीतिगत तयारीको खाँचो औँल्याए। पवित्र तीर्थस्थलको निरन्तरता र भक्तजनको जिउधनको सुरक्षाका लागि गोताखोर र उद्धार व्यवस्थालाई स्थायी बनाउनु पर्ने उनीहरूको जोड रहेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस