राष्ट्र बैंकको नयाँ नीति, अब एकपटक मात्रै केवाइसी अद्यावधिक गर्न पर्याप्त

अबदेखि बैंक जाँदा पटक–पटक “केवाइसी अपडेट गर्नुस्” भन्ने झन्झटबाट सेवाग्राहीहरू मुक्त हुने भएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ग्राहक पहिचान विवरण (केवाइसी) राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत रूपमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
अहिलेसम्म सेवाग्राहीले जति बैंकमा खाता खोल्छन्, प्रत्येकमा छुट्टै–छुट्टै केवाइसी फाराम भर्नुपर्ने बाध्यता थियो। यसले सेवाग्राहीमा ठूलो असहजता र असन्तुष्टि सिर्जना गर्दै आएको थियो।
तर अब एकपटक कुनै एक बैंकमा अद्यावधिक गरिएको केवाइसी विवरण अन्य आवश्यक वित्तीय संस्थाहरूले विद्युतीय प्रणालीमार्फत पहुँच गर्न सक्ने व्यवस्था गरिनेछ। यसका लागि आवश्यक पूर्वाधार निर्माणमा राष्ट्र बैंकले सहजीकरण गर्ने उल्लेख मौद्रिक नीतिमा गरिएको छ।
नयाँ प्रणाली लागू भएपछि ग्राहकले केवाइसी विवरण अद्यावधिक गरेपछि एक अद्वितीय ‘पहिचान नम्बर’ प्राप्त गर्नेछन्। जुन नम्बर प्रयोग गरेर कुनै पनि बैंक वा वित्तीय संस्थाले सो ग्राहकको व्यक्तिगत विवरण स्वतः प्राप्त गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार, “बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकहरूको ग्राहक पहिचान विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ।“
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस