रसुवामा बाढीले ठुलो क्षति, ३५० मेगावाट जलविद्युत् निर्माण ठप्प

रसुवा — रसुवामा हालै आएको बाढीका कारण ३५० मेगावाट क्षमताका निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम ठप्प भएको छ। साथै, सञ्चालनमा रहेका २५० मेगावाट क्षमताका आयोजना पनि पूर्णरूपमा बन्द भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले कुल ६०० मेगावाट बराबरको उत्पादन तथा निर्माण प्रभावित भएको हो।
सञ्चालनमा रहेका आयोजनाहरू:
बाढीका कारण तत्कालीन रूपमा बन्द भएका जलविद्युत् आयोजनाहरूमा निम्न आयोजना रहेका छन्:
-
रसुवागढी जलविद्युत् आयोजना – १११ मेगावाट
-
त्रिशूली थ्री ए – ६० मेगावाट
-
त्रिशूली जलविद्युत् केन्द्र – २५ मेगावाट
-
चिलिमे जलविद्युत् – २२ मेगावाट
-
माथिल्लो मैलुङ – १४ मेगावाट
-
देवीघाट जलविद्युत् आयोजना – १४ मेगावाट
-
मैलुङ खोला जलविद्युत् – ५ मेगावाट
यीमध्ये केही आयोजनाको विद्युत् प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेसनमा क्षति पुगेपछि उत्पादन पूर्णरूपमा अवरुद्ध भएको इप्पानले जनाएको छ।
निर्माणाधीन आयोजना ठप्प
बाढीका कारण निम्न निर्माणाधीन आयोजनाहरूमा गम्भीर क्षति पुगेको छ:
-
माथिल्लो त्रिशूली–१ – २१६ मेगावाट
-
सुपर त्रिशूली – १०० मेगावाट
-
त्रिशूली ३बी जलविद्युत् आयोजना – ३७ मेगावाट
यी आयोजनाको निर्माण कार्य पूर्णरूपमा रोकिएको छ।
त्रिशूली नदी करिडोरमा रहेको त्रिशूली ३बी हब सवस्टेसन र प्रसारण लाइनमा पनि क्षति पुगेकाले आगामी केही दिनसम्म विद्युत् उत्पादन र प्रवाह ठप्प हुने अनुमान गरिएको छ। यसको कारण हरेक दिन करोडौँ रुपैयाँको घाटा हुने ऊर्जा उत्पादकहरूको भनाइ छ।
भोटेकोशी हुँदै आएको बाढीको प्रभाव
चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने लेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
इप्पानका अनुसार, देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेकका सबै आयोजना निजी क्षेत्रको लगानीमा निर्माण भएका हुन्। निर्माणाधीन सबै आयोजना पनि निजी क्षेत्रकै नेतृत्वमा निर्माण भइरहेका हुन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस