राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट उठाइँदै

काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले ४२ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गर्दै आज दिउँसो ३ बजेसम्म समय तोकेको छ।
यो निक्षेप संकलनमा कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। सावाँ र ब्याजको भुक्तानी साउन १८ गते हुनेछ भने ब्याजदर पनि बोलकबोलमार्फत निर्धारण गरिनेछ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाहरूले निक्षेप रकम र प्रस्तावित ब्याजदर (दशमलब पछिको चार अंकसम्म उल्लेख गरी) पेश गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदरका बोलपत्रहरूलाई प्राथमिकता दिँदै आह्वान रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। यदि समान ब्याजदरमा धेरै बोल आएका खण्डमा ‘प्रो–रेट बेसिस’मा रकम बाँडफाँट हुनेछ।
समितिले बोलकबोलमार्फत प्राप्त प्रस्तावहरू पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार राख्नेछ। स्वीकृत संस्थाहरूको खाताबाट रकम कट्टा गरी निक्षेप संकलनको छुट्टै खातामा जम्मा गरिनेछ।
यदि बोलपत्र स्वीकृत भई पनि तोकिएको दिनमा खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थाहरूलाई कालोसूचीमा राखी भविष्यका बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले चेतावनी दिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस