Techie IT
गृहपृष्ठसमाचारत्रिशूली अस्पतालमा मातृशिशु वार्डसहितको आधुनिक भवन निर्माणको तयारी

त्रिशूली अस्पतालमा मातृशिशु वार्डसहितको आधुनिक भवन निर्माणको तयारी


नुवाकोट, असार २ — त्रिशूली अस्पतालमा मातृशिशु सेवा सुविधा समेटिएको आधुनिक भवन निर्माणको तयारी थालिएको छ। नुवाकोटको विदुर नगरपालिका–९ कोलोनीमा प्रस्तावित पाँच तले भवनको डिजाईन, बजेट र वातावरणीय परीक्षणसम्बन्धी प्रारम्भिक प्रक्रिया पूरा भइसकेको अस्पतालले जनाएको छ।

विदुर नगरपालिकासहित नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका नागरिकले उपचार सेवा लिइरहेका त्रिशूली अस्पतालमा मातृशिशु सेवा विस्तार गर्दै अत्याधुनिक पूर्वाधार विकास गर्न लागिएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार, प्रस्तावित पाँचतले भवन निर्माणको लागि झण्डै ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। हाललाई झण्डै ३७ करोड रुपैयाँको लागतमा तीन तले भवन निर्माण गरिनेछ, जसको प्रस्ताव बागमती प्रदेश सरकारसमक्ष प्रस्तुत भइसकेको छ।

नयाँ भवन मातृशिशु वार्डलाई लक्षित गरी निर्माण गरिन लागिएको हो। सो भवनमा अत्यावश्यक चिकित्सकीय सेवा, उपकरण, विशेषज्ञ सेवा र सुविधा समावेश गरिनेछ। डिपिआर निर्माणमा संलग्न इञ्जिनियर सुरज लामाका अनुसार, भवन सम्पूर्ण मातृशिशु सेवाको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।

भवन निर्माण अगाडि बढाउन आवश्यक पर्ने वातावरणीय परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ आइतबार सम्पन्न गरिएको हो। सुनुवाइ कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बागमती प्रदेश सरकारसमक्ष योजना प्रस्तुति गरिसकेको जानकारी दिँदै विदुर नगरपालिकाको तर्फबाट आवश्यक औषधि, जनशक्ति तथा पूर्वाधार उपलब्ध गराइने प्रतिबद्धता जनाए।

कार्यक्रममा उपमेयर प्रभा बोगटीले अस्पतालको सेवा प्रवाह थप प्रभावकारी बनाउन सुझाव दिँदै उपकरण तथा जनशक्तिको माध्यमबाट सेवा विस्तार भइसकेको जानकारी दिइन्।

वातावरणविद् सरोज नेपालले भवन निर्माणका क्रममा हुन सक्ने वातावरणीय असर न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको उल्लेख गर्दै आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए।

सार्वजनिक सुनुवाइमा विदुर–९ का वडाध्यक्ष हरिराम भण्डारी, अस्पताल सञ्चालक समिति, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीय उद्यमी, व्यापारी लगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख आतिथ्यता सम्हालेका मेयर श्रेष्ठको नेतृत्वमा प्रस्तुत कार्ययोजना अनुसार, बागमती प्रदेश सरकारको सहयोगमा आगामी आर्थिक वर्षको बजेटमार्फत श्रोत सुनिश्चित गरिने अपेक्षा गरिएको छ।

हाल त्रिशूली अस्पताल १०० शय्याका साथ सञ्चालनमा छ र दैनिक ५ सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्। अस्पतालमा विशेषज्ञ सेवा, आकस्मिक सेवा, वरिरङ, टोकन प्रणाली र हालै सुरु गरिएको अनलाइन टिकटिङ प्रणालीमार्फत सेवा प्रवाह भइरहेको छ।

संघीय तथा प्रदेश सरकारद्वारा भएको मूल्यांकनमा त्रिशूली अस्पताल उत्कृष्ट क्षेत्रीय अस्पतालका रूपमा पहिचान बनाउँदै आएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस