नुवाकोटमा ‘अभ्यास मनसुन–५’ प्रारम्भ : विपद् प्रतिकार्यमा समन्वय र तयारीलाई प्राथमिकता

नुवाकोट।
मनसुनको समयमा हुन सक्ने बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक विपद्को सम्भावनालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री शेर गण, नुवाकोटले ‘अभ्यास मनसुन–५’ सञ्चालनमा ल्याएको छ। विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन र खोज तथा उद्धार कार्यलाई छिटो तथा समन्वित ढंगले सञ्चालन गर्न अभ्यास सुरु गरिएको हो।
गणपति प्रमुख सेनानी अशोक कुमार मल्लका अनुसार, अभ्यासमा विपद्पूर्व तयारीदेखि घटनापछि खोज, उद्धार र राहत वितरणसम्मका सम्पूर्ण चरणलाई समेटिएको छ। यस अभ्यासमार्फत विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको सहकार्य र समन्वयमा जोड दिइएको छ।
श्री शेर गणमा आयोजित शुभारम्भ कार्यक्रममा, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल रेडक्रस सोसाइटी, नुवाकोट उद्योग वाणिज्य संघलगायत विपद् क्षेत्रमा क्रियाशील निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले विगतदेखि नै सक्रिय रहेका निकायबीचको सहकार्यले विपद् प्रतिकार्य कार्यलाई सफल बनाउने विश्वास व्यक्त गर्दै सत्य सूचना, शीघ्र उद्धार, राहत तथा बन्दोबस्तीको व्यवस्थापनमा समन्वयको महत्त्व उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी निकायहरूले आफ्नो–आफ्नो विपद् प्रतिकार्य तयारी, उपलब्ध स्रोत–साधन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। अभ्यासले विगतका अनुभवमा आधारित सुधारलाई समावेश गर्दै स्थानीय स्तरमै समन्वित कार्य प्रणाली विकसित गर्ने उद्देश्य राखेको छ।
‘अभ्यास मनसुन–५’ को माध्यमबाट नुवाकोट जिल्लामा विपद्को सामना गर्न बहुपक्षीय संयन्त्र तयार पारिने विश्वास लिइएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस