सडक विस्तारले शिवपुरीमा कृषकका लागि खुल्यो आम्दानीको नयाँ ढोका

भरत सन्तोषी लामा, शिवपुरी
नुवाकोटको शिवपुरी गाउँपालिकामा छहरे–टोखा सडकखण्डको स्तरोन्नतिसँगै स्थानीय कृषकहरूका लागि आम्दानीको नयाँ सम्भावना खुलेको छ।
पहिले घरमा फलाएको तरकारी र फलफूल बजारसम्म लैजानुपर्दा गाडी भाडा, समय र मेहनतको झन्झट थियो। तर अहिले, सडक विस्तारपछि यात्रु र उपभोक्ता आफैँ गाउँमै पुग्न थालेपछि कृषकहरूले आफ्नै आँगनबाटै उत्पादन विक्री गर्न थालेका छन्।
थापगाउँकी ६५ वर्षीया मैयादेवी थपलियाले सञ्चालन गरिरहेको ‘वनदेवी कृषि फर्म’ बाट उत्पादन हुने ताजा तरकारी, फलफूल र बेमौसमी उपज अहिले सडकछेउको रुद्रेबगैँचामा बिक्री भइरहेको छ। “पहिला बजार जानुपर्थ्यो, अहिले भने ग्राहक घरमै आइपुग्छन्”, उनले भनिन्।
त्यस्तै, चौघडाका कृषक कृष्ण राईले पनि पहिले बजारसम्म सामान बोकेर लैजानुपरेकोमा अब भने सडक किनारमै थापेर विक्री गर्न पाउँदा गर्व महसुस हुने बताएका छन्।
सडकको सुधारसँगै यात्रुहरूको आवागमन बढेसँगै किसानहरूले काफल, खुर्पानी, तर्बुजा, केरा, मौसमी फलफूलदेखि तरकारीसम्म सडकछेउमै राखेर बेच्न थालेका छन्। यसले शिवपुरीलाई “कृषि उपजको हाइवे” का रूपमा चिनाउन थालेको छ।
सुनखानीकी अर्की कृषक चमेली तामाङले सडकछेउमै फर्सीको मुन्टा बिक्री गरेर दैनिक एक हजार रुपैयाँसम्म कमाइ हुने जानकारी दिइन्। “अब के–कस्तो सामान यात्रुले मन पराउँछन् भन्ने पनि बुझिसकिएको छ”, उनले भनिन्।
छहरे–टोखा सडकको स्तरोन्नतिले कृषकहरूको उत्पादन, बिक्री र व्यवसायिक सोचबीच समन्वय गराइदिएको छ। यसले स्थानीय स्रोत, श्रम र सीपको भरपूर उपयोग हुन थालेको छ भने गाउँलेको जीवनशैलीमा पनि सकारात्मक परिवर्तन देखिन थालेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस