नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरी सहायक हवल्दारमाथि कुटपिट गरेका छन्। बुधवार सडकमै घटेको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसले व्यापक ध्यान तानिएको छ।
उक्त घटनामा इन्स्पेक्टर साहले ट्राफिक प्रहरी प्रभाग, नागढुंगामा कार्यरत एक सहायक हवल्दारलाई सार्वजनिकरूपमा चड्कन हानेका थिए। भिडियोमा देखिएको घटनालाई पुष्टि गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपक गिरीले घटनाबारे बुझ्ने प्रक्रिया चलिरहेको बताएका छन्।
उनले भने, “इन्स्पेक्टर र जुनियर प्रहरीबीच विवाद भएको देखिन्छ, घटनाबारे थप विवरण संकलन भइरहेको छ।”
कुटपिटमा परेका सहायक हवल्दार ट्राफिक ड्युटीमा खटिएका थिए। इन्स्पेक्टर साह भने नागढुंगा ट्राफिक प्रहरी वृत्तका प्रमुख हुन्। प्रारम्भिक जानकारी अनुसार, इन्स्पेक्टर साहले ती हवल्दारले ट्रक चालकसँग रकम लिएको पाइएपछि कारबाहीस्वरूप आफैंले चड्कन हानेको आफूले कमाण्डमा जानकारी गराएको उल्लेख गरेका छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस