Techie IT
गृहपृष्ठसमाचारअझै भेटिएन बोलेरो गाडी,

अझै भेटिएन बोलेरो गाडी,

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष


मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङका कारण जमिन भासिँदा बोलेरो गाडी धसिएको घटनाको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले कमजोर जमिन संरचना र अव्यवस्थित बोरिङलाई प्रमुख कारणका रूपमा औँल्याएको छ।

विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा घटनास्थलमा गरिएको अध्ययनले जमिनमुनि रहेको सिल्टयुक्त माटो बोरिङको क्रममा बाहिर निकालिँदा जमिन कमजोर बनेर सिङ्कहोल (भासिएको खाल्डो) उत्पन्न भएको जनाएको छ। भूगर्भविद् कृष्ण पाण्डेका अनुसार, जमिनको कमजोर संरचनाले माथिको भार धान्न नसक्दा जमिन भासिएको हो।

डा. अधिकारीको टोलीले घटनास्थलको केन्द्र भागमा करिब ११ मिटर गहिरो सिङ्कहोल देखिएको जनाएको छ। अध्ययनका क्रममा जमिनमुनिबाट निरन्तर सिल्टयुक्त पानी निस्किरहेकाले भविष्यमा थप जमिन भासिने जोखिमसमेत रहेको चेतावनी दिइएको छ।

विभागले २०६२ सालमै तयार पारेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा पनि गैरीगाउँलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकृत गरिएको थियो। पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, विगतका प्रतिवेदनहरू र वैज्ञानिक परीक्षणका आधारमा उक्त स्थान जमिन भासिन सक्ने जोखिमयुक्त क्षेत्र हो भन्ने पुष्टि भएको हो।

१९ वैशाखमा हेटौँडाको वडा नम्बर १६ र १७ को सीमामा पर्ने भित्री सडक खण्डमा रोकिराखिएको ना  ४ च ४८३३ नम्बरको बोलेरो गाडी जमिन भासिँदा एक्कासि बेपत्ता भएको थियो। गाडी निकाल्ने प्रयासकै क्रममा जमिन थर्किँदा गाडी भासिएको हो। चालक हरेराम राई र सहचालक भागेर ज्यान जोगाउन सफल भएका थिए। तर, गाडी भने अहिलेसम्म फेला परेको छैन।

गाडी भासिएको स्थानको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल र चुम्बकीय क्षेत्रको दुई दिनसम्म परीक्षण गरेपछि अध्ययन टोलीले त्यो क्षेत्रको भू-ढाँचा अत्यधिक कमजोर रहेको निष्कर्ष निकालेको थियो। विशेषगरी पोखरी, कुलो, सिँचाइ प्रणाली तथा बोरिङले जमिन थप कमजोर बनाउने भएकाले त्यहाँ कुनै पनि निर्माण गर्नु अघि अनिवार्य रूपमा भूगर्भीय परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ।

यसैबीच, हेटौँडा उपमहानगरपालिकाले उक्त स्थानलाई शीलबन्दी गर्दै सुरक्षाका उपायहरू अपनाएको उपमेयर राजेश बानियाँले जानकारी दिएका छन्। ‘गाडी निकाल्ने प्रयासपछि थप जोखिम देखिएपछि क्षेत्रलाई सुरक्षित राख्न शीलबन्दी गरिएको छ,’ उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर जमिन थप भासिन नदिन आवश्यक सतर्कता अपनाइएको छ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस