साता व्यापी रुपमा अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै दुप्चेश्वर ।
दुप्चेश्वर गाउँपालिकाले साताव्यापी रुपमा वडा तहबाट अपांगता परिचयपत्र वितरण र नविकरण तथा जेष्ठ नागरिक परिचयपत्र वितरण कार्य सञ्चालन गरिरहेको छ ।
वुधबार वडा नम्बर १ मा ४ जनालाई जेष्ठ नागरिक परिचय पत्र, २ जना अपांगता भएका व्यक्तिको परिचय पत्र नविकरण र १ जनालाई (ख) वर्गको अपांगता परिचयपत्र प्रदान गरिएको थियो । यस्तै विहिवार वडा नम्बर २ का ५ जनालाई जेष्ठ नागरिक परिचय पत्र, २ जनालाई (ख) वर्गको र १ जनालाई (घ) वर्गको अपांगता परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला लामिछानेले जानकारी दिनुभएको छ ।

शाखा प्रमुख लामिछानेको अनुसार शुक्रवार वडा नम्बर ३ का १ सय २६ जनलाई जेष्ठ नागरिक परिचय पत्र, १ जनालाई (घ) वर्गको र २ जनालाई (ख) वर्गको अपांगता परिचय पत्र प्रदान गरिएको छ ।
गत आर्थिक वर्षमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैली, पारिवारिक स्थिति, आर्थिक अवस्था लगायतको बारेमा जानकारी लिनलाई घरघरमा पुगेर अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण सम्वन्धी घरदैलो अभियान सञ्चालन गरेको थियो । विगतका वर्षहरुमा परिचय पत्र लिनबाट छुट भएका व्यक्तिहरुलाई समेट्न वडा तहबाट नै परिचय पत्र वितरणको कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ ।

संघियताले नागरिकको नजिकको सरकारको रुपमा स्थानीय तह स्थापना गरिदिएकोले लक्षित बर्गको रुपमा रहेको जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई पालिकासम्म धाउनुपर्ने वाध्यताबाट अन्त्य गर्न वडा स्तरबाटै परिचय पत्र वितरण गर्ने कार्य गरिरहेको उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ ।
यस अभियानलाई सार्थक तुल्याउन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारी, लेखा अधिकृत सर्वदा पण्डित सहित जनप्रतिनिधिहरुको टिम सम्वन्धित वडा कार्यलयमा पुगेर अपांगता परिचयपत्र वितरण र नविकरण तथा जेष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेका छन् ।

जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सरकारले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, सार्वजनिक यातायातको साधनमा यात्रा गर्दा पाइने छुट लिन, विद्यार्थीहरुलाई छात्रावृद्धि लिन लगायतको विषयमा सहज तुल्याउन परिचय पत्र आवस्यक पर्ने भएकोले गाउँपालिकाले अभियानको रुपमा परिचय पत्र वितरण कार्य सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीले बताउनुभएको छ ।
बाँकी वडाहरुमा पनि निरन्तर परिचय पत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot























प्रतिक्रिया दिनुहोस