विवादबीच प्रधानन्यायाधीश राणाले खुवाए उच्च अदालतका १७ न्यायाधीशलाई शपथ
	
				
			२०७५, २७ चैत्र , एक साताअघि न्यायपरिषदले उच्च अदालतको न्यायाधीश सिफारिस गरेका १७ जनालाई प्रधान्यायाधीश चोलेन्द्रशमसेर राणाले शपथ खुवाएका छन्।
बुधबार बिहान ११ बजे उनीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
न्यायपरिषदले उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस गरेको थियो। उच्च अदालतमा वैशाख ३ गते खाली हुने पदका लागि पनि पहिलै सिफारिस गरिएको हो। १८ मध्ये एक जना न्यायाधीशले उक्त पद खाली भएपछि नियुक्ति पाउने गरी सिफारिस गरिएको हो।
उच्च अदालतका न्यायाधीशमा विशिष्ट श्रेणीबाट नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल नियुक्त भएका छन्।
त्यस्तै यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीश भएका छन्।
यी मध्ये काफ्ले, ढकाल, शर्मा, आजाद र कर्णविरूद्ध गम्भीर उजुरी परेको भन्दै २ वर्षअघि न्यायपरिषदको छानबिन गरेको थियो। कर्णलाई सामान्य नसिहत दिए पनि अरू चार जनालाई भने गम्भीर अनुसन्धान गर्नु पर्ने भनेको थियो। न्यायपरिषदले अनुसन्धाननै नगरी उनीहरूविरूद्धको उजुरी तामेलीमा पठाएर उच्च अदालतमा तानेको हो।
अधिवक्ताहरूबाट सात जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ। अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन्।
अधिवक्ता शाह पूर्व प्रधानन्यायाधीश रामकुमार साहकी छोरी र थपलिया प्रधान्यायाधीश राणाका इष्टमित्र भएका कारणले उच्च अदालतका न्यायाधीश बनेका हुन्। उनीहरूको नियुक्ति विवादमा परेको छ।
क्याटेगोरी : देश, समाचार




				
				
				
				
				
				
				
				


















प्रतिक्रिया दिनुहोस