वडाअध्यक्ष सिताराम पुलामी मगर टिचिङ अस्पतालबाट सम्मानित
नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम पुलामी मगर सम्मानित हुनुभएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH), महाराजगञ्जले मानवीय सेवा र बिरामीहरूको हितमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई ‘कदर-पत्र’ द्वारा सम्मान गरेको हो।

देशकै ठूलो र प्रमुख सरकारी अस्पतालको रूपमा रहेको शिक्षण अस्पतालमा आउने बिरामीहरूका लागि नि:स्वार्थ भावले सेवा पुर्याउनुका साथै सत्कर्म एवं पुण्य कार्यहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै अस्पताल प्रशासनले वडा अध्यक्ष मगरको उच्च प्रशंसा गरेको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यद्वारा हस्ताक्षरित कदर-पत्र प्राप्त गरेपछि वडा अध्यक्ष मगरले निकै गौरवान्वित महसुस भएको बताउनुभएको छ।
यो सम्मान सम्पूर्ण सहयोगी हातहरूमा समर्पित: वडा अध्यक्ष मगर
सम्मान ग्रहण गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै वडा अध्यक्ष मगरले यो सफलता आफ्नो एक्लो प्रयासले नभई सबैको सहकार्यले सम्भव भएको उल्लेख गर्नुभएको छ। वडा अध्यक्ष मगर आफ्नो सामाजिक संजालमा लेख्नुहुन्छ :
”मलाई हरेक पाइलामा नि:स्वार्थ भावले साथ, सहयोग र हौसला दिनुहुने मेरा सम्पूर्ण आदरणीय सहयोगी हातहरू, सल्लाहकारहरू र शुभचिन्तकहरूमा म यो सम्मान सादर समर्पित गर्न चाहन्छु। तपाईंहरू बिना यो यात्रा सम्भव थिएन।”
आफ्नो सामाजिक र मानवीय कार्यको मूल्याङ्कन गरिदिएकोमा टिचिङ अस्पताल प्रशासनप्रति कृतज्ञता व्यक्त गर्दै वडा अध्यक्ष मगरले आगामी दिनमा पनि समाज र मानवीय सेवाका कार्यहरूमा सबै मिलेर यसरी नै हातेमालो गर्दै अघि बढ्ने प्रण गर्नुभएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस