Techie IT
गृहपृष्ठसमाचारलिखु गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको अभिमुखीकरण , सीप रोजगारी र स्वदेशमै उद्यममा जोड

लिखु गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको अभिमुखीकरण , सीप रोजगारी र स्वदेशमै उद्यममा जोड


नुवाकोटको लिखु गाउँपालिका मा रोजगार सेवा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोजगार सेवा केन्द्रले हालसम्म गरेका गतिविधि, बेरोजगार व्यवस्थापन, वैदेशिक रोजगार, सीपमूलक तालिम तथा पुनःएकीकरण कार्यक्रमका विषयमा विस्तृत जानकारी दिनुभयो ।


कार्यक्रममा रोजगार कार्यक्रम संयोजक खिमा सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन भई “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम” भएको जानकारी दिनुहुँदै अब केवल रोजगारी उपलब्ध गराउने मात्र नभई सीप सिकाइ तथा क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीबाट फर्किएका ४० जना व्यक्तिहरूको आवश्यकता पहिचान गरी मंगलबार र बुधबार तालिम आयोजना गरिएको जानकारी समेत दिनुभयो ।
रोजगार service केन्द्रले बेरोजगार तथ्यांक संकलन, बेरोजगार व्यक्तिको नाम सूचीकरण, रोजगारीका अवसरहरूको पहिचान तथा सूचना प्रवाह, रोजगारदातालाई आवश्यक श्रमिक उपलब्ध गराउने लगायतका सेवा प्रदान गर्दै आएको जानकारी कार्यक्रममा दिनुभयो । हरेक वर्ष बेरोजगार सूचीमा सूचीकरण तथा नवीकरण गर्ने कार्यसँगै सूचीकृत बेरोजगारहरूलाई रोजगारीमा खटिनुअघि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी समेत गराउनु भयो ।
पालिकाका ६ वटै वडामा “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुहुँदै पुनः श्रम स्वीकृतिका लागि निरन्तर सहजीकरण भइरहेको र हालसम्म १५० वटा पुनः श्रम स्वीकृतिका लागि सहयोग गरिएको बताउनु भयो ।
वैदेशिक रोजगारमा जाने व्यक्तिहरू तथा करिब ३०० घरपरिवारलाई परामर्श, तालिम तथा सूचना प्रवाह गरिएको जानकारी दिनुभयो । स्थानीय तहको रोजगार रणनीतिक योजना कार्यान्वयनसँगै निःशुल्क सीपमूलक तालिमका लागि विभिन्न निकायसँग सहकार्य तथा समन्वय भइरहेको जानकारी गराउनु भयो । स्वीकृत बेरोजगारहरूलाई कार्यस्थलमा आधारित सुरक्षा सामग्री वितरण गरिँदै आएको जानकारी समेत दिनुभयो ।
त्यसैगरी पुनःएकीकरण कार्यक्रम अन्तर्गत ६० जनालाई बीउ पूँजी हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका उद्यमीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत कन्यादेवी बङ्गुर फर्म ले ७२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको जानकारी गराउनु भयो ।
हालसम्म लिखु गाउँपालिका मा २ हजार ८२९ जना बेरोजगार सूचीकृत रहेका छन् भने पालिकाबाट श्रम स्वीकृति लिएर करिब १५० जना वैदेशिक रोजगारीमा गएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ, ६ वटै वडाका वडाध्यक्षहरू तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस