बेत्रावतीमा वृक्षारोपण कार्यक्रम सम्पन्न, गल्छी–त्रिशूली सडक हरित मार्गमा रूपान्तरण

नुवाकोट, असार २। वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यले वर्ल्ड फाइबर नेट प्रा.लि., बेत्रावतीद्वारा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। “आजको बिरुवा, भोलिको हरियाली” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा गल्छी–त्रिशूली सडक खण्डलाई हरित मार्गको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रमको उद्घाटन बेत्रावती क्लब भवनबाट सुरु भई त्रिशूली २ नम्बर पुलसम्मको सडक दायाँबायाँ क्षेत्रमा गरिएको हो।
कार्यक्रम अन्तर्गत सडक दायाँबायाँ विविध किसिमका बोटबिरुवा रोपिएको छ। क्लब भवनदेखि भैसे पुलसम्म प्रत्येक ५० मिटरको दूरीमा आकर्षक कल्की फूल, भैसेदेखि २ नम्बर पुलसम्म लालुपातेसँगै अम्बा, फलिट, जामुन र अमलाका बिरुवा रोपिएको छ। यस अतिरिक्त सो स्थानको तलपट्टी प्रत्येक ३० मिटरको दूरीमा अशोका बिरुवा र नहरको साइडमा म्याङ्गोस्ट्रिङसहित विभिन्न प्रकारका फूलका बिरुवाहरु रोपिएको कार्यक्रम संयोजकले जानकारी दिए।
विगत वर्षहरुमा पनि निरन्तर वृक्षारोपण गर्दै आएको वर्ल्ड फाइबर नेटले यस वर्ष विशेष महत्वका साथ हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा योगदान पु¥याउने अभियानलाई अघि बढाएको हो।
सहभागीहरुले वृक्षारोपणको क्रममा वातावरणीय संरक्षणको आवश्यकता र सडकछेउका पुराना बोटबिरुवा व्यवस्थापनको आवश्यकताको चर्चा गरेका थिए।
संस्थाका प्रतिनिधिहरूले आगामी वर्षहरूमा अझ व्यापक रूपमा वृक्षारोपण कार्यक्रमलाई विस्तार गर्दै वातावरणमैत्री समाज निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गल्छी–त्रिशूली सडक हरित मार्गमा रूपान्तरण, #बेत्रावतीमा वृक्षारोपण कार्यक्रम सम्पन्न
प्रतिक्रिया दिनुहोस