Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा रासायनिक मलको कालोबजारी: किसान मारमा, निकायहरू मौन

नुवाकोटमा रासायनिक मलको कालोबजारी: किसान मारमा, निकायहरू मौन


नुवाकोट, 
“रोपोको मौसम, तर मल छैन। खेत छ, मेहनत छ – तर के हाल्ने खेतमा?”
नुवाकोटका अधिकांश किसान अहिले यही चिन्तामा छन्। सरकारी मल पाइँदैन, तर बजारमा भने त्यही मल सजिलै पाइन्छ – त्यो पनि दोब्बर मूल्यमा।


कृषिमा निर्भर नुवाकोटका किसान यतिबेला डिएपी (DAP) र युरिया मलको चरम अभावसँग जुधिरहेका छन्। मल नपाउँदा रोपाइँ प्रभावित भएको छ भने उत्पादनमा पनि ठूलो असर पर्ने चिन्ता छ।
लिखु गाउँपालिका–४ का कृषक राचन्द्र अगस्तीले मलका लागि १८ वटा सहकारी, पसल, गोदाम धाउँदा पनि खाली हात फर्कनुपरेको अनुभव सुनाए।
“१८ किलो मलको लागि १८ ओटा ठाउँ पुगेँ, कतै पाइनँ,” उनी भन्छन्।


युरिया चाहिने बेला डिएपी मात्रै उपलब्ध हुन्छ, र डिएपी आवश्यक पर्दा युरिया मात्र पाइने अवस्था देखिएको छ। त्यो पनि सरकारी गोदाममा होइन, निजी पसलमा दोब्बर मूल्य तिरेर मात्रै।
तादी गाउँपालिकाका एक कृषकले गुनासो गरे, “सरकारी मल लाउन खोज्दा पाइँदैन, तर निजी पसलमा दोब्बर भाउ तिरेर भए पनि पाइन्छ। हामी बाध्य छौँ किन्न।”

कृषकहरू मारमा परेका छन्, तर जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले यस विषयमा कुनै सक्रियता देखाएका छैनन्। न अनुगमन गरिएको छ, न जिम्मेवारी लिइएको छ। किसानहरूको समस्या बुझ्ने प्रयास नै छैन।

नेपाल सरकारले वर्षेनी हजारौँ मेट्रिक टन मल आयात गर्छ। तर वितरण प्रणाली कमजोर र अपारदर्शी हुँदा वास्तविक किसान मलबाट वञ्चित भइरहेका छन्।
अनलाइन नुवाकोटको बुझाइ अनुसार, कालोबजार मुख्यतः मल वितरण समितिका नजिकका, पहुँचवाला समूहहरूकै प्रभाव क्षेत्रमा हुने गरेको छ।

add

कृषकहरूको वास्तविक आवश्यकतालाई बुझेर, वितरणको समय र मलको प्रकार , खेतमा कुन बेला कुन मल आवश्यक पर्छ भन्ने जानकारीका आधारमा वितरण नहुँदासम्म समस्या समाधान नहुने देखिन्छ । यदि सम्बन्धित निकायहरूले समयमै सक्रियता नदेखाए, नुवाकोटको कृषि समृद्धिको सपना केवल सरकारी प्रतिवेदन र भाषणमा सीमित हुनेछ, खेत भने मल नपाएर बाँझै बस्न बाध्य हुनेछ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस