तारुकामा जुधाइने गोरु मेलाको तयारी पुरा
नुवाकोटमा प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गरिदै आएको गोरु जुधाइने मेलाको तयारी पुरा भएको छ ।
माघेसंक्रान्तिका दिन तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा यस वर्ष १७ हल गोरु जुधाइने भएको छ ।
नुवाकोटको मात्रै नभई सिंगो नेपालकै पहिचान बनेको ऐतिहासिक गोरु जुधाई मेलालाई सभ्य, भव्य र सुरक्षित रुपमा सम्पन्न गरिने बनाइने तारुका माघेसंक्राति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सुर्यमान श्रेष्ठले वताए । विदुरमा सोमवार गोरु जुधाई मेलाका सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले मेलामा यस वर्ष विहान १० वजेदेखि नै १७ हल गोरु जुधाइने जानकारी दिए ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमा गोरु जुधाई मेला सफल गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।
नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन सदियौदेखि गोरु जुधाइदै आएको छ । माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाको आयोजनामा सो मेला सफल बनाउनका लागि सवै क्षेत्रलाई सहयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
तारुकाको गोरु जुधाई मेलालाई व्यवस्थित वनाउन सुर्यमा श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय गोरु जुधाई मेला आयोजक समिति गठन गरिएको छ । समितिको सचिवमा विष्णुप्रसाद जमकट्टेल र कोषाध्यक्षमा मदनकुमार श्रेष्ठ रहेका छन् ।
तारुकाको गोरु जुधाई मेला हेर्न आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । धुलो वाटोमा लामो यात्रा गर्दै चन्दनीसम्म पुगेर हजारौंले मेलाको मवलोकन गर्ने गरेको आयोजक संस्थाका सल्लाहकार जनकराज ढुंगानाले वताए ।
कृष्णमान श्रेष्ठको संयोजकत्वमा पांच सदस्यीय गोरु जुधाई मुल्यांकन समिति, सन्तोष सिग्देलको संयोजकत्वमा तीन सदस्यीय मन्च व्यवस्थापन समितिसमेत गठन गरिएको आयोजक समितिका सचिव विष्णुप्रसाद जम्कट्टेलले जानकारी दिए । मेलामा जुध्ने गोरु दर्ताका लागि एकहजार रुपैया शुल्क राखिएको छ ।
गत वर्ष गोरु वर्गिकरण गरि क र ख वर्ग गरि पुरस्कार वितरण गरिएको थियो । क वर्गको विजेता गोरु धनीलाई नगद नौ हजार र उपविजेतालाई आठ तथा ख वर्गको विजेता गोरु धनीलाई सात र उपविजेता गोरुका धनीलाई ६ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।
यस वर्ष पनि सो पुरस्कार भन्दा थोरै नहुने कोषाध्यक्ष मदनकुमार श्रेष्ठले वताए । गोरु जुधाई मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक संस्कृतिको रुपमा विकसित भएको छ ।
सो मेला पछिल्लो समयमा नुवाकोटको विभिन्न स्थानमा फैलिएको छ । गोरु जुधाई मेलालाई २०६० सालदेखि तारुका चन्दनी एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि तारुकाको गोरु जुधाई परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।
नुवाकोटमा तारुकासँगै मात्रघेसंक्रान्तिका दिन बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाई हुने गरेको छ । सवै स्थानमा गरेर ३५ हल गोरु जुधाइने तयारी भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस