Techie IT
गृहपृष्ठदेशमलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणका लागि १२६ संस्थाले दिए आवेदन

मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणका लागि १२६ संस्थाले दिए आवेदन


काठमाडौं । मलेसिया जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन १२६ स्वास्थ्य संस्थाले आवेदन दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाए अनुसार आवेदन दिने अन्तिम दिन आइतबारसम्म १२६ वटा संस्थाले मापदण्ड पूरा गरेको दाबीका साथ सूचीकृत हुन आवेदन दिएका हुन् । ती मध्ये मन्त्रालयले आवश्यक मापदण्ड पूरा भएरनभएको पत्ता लगाई अन्तिम स्वीकृतिका लागि संस्था गर्ने बताइएको छ ।
यसरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाहरुले अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफी प्रविधि, एक्सरे रिपोटिङ रुम र
रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफरलगातयतका भौतिक एवं मानव संसाधन मापदण्ड पूरा गरेको हुनुपर्ने उल्लेख छ ।

साथै ती संस्थाहरुसँग केमिकल एण्ड रिएजेन्ट डिपार्टमेन्ट अन्तर्गत प्रेग्नेन्सी परीक्षण, मृगौला परीक्षण, एचआइभी परीक्षण, ब्लडग्रुप र अन्य १४ प्रकारका परीक्षण तथा प्याथोलोजी डिपार्टमेन्ट अन्तरगत माइक्रोसप मेसिन, हट एअर ओभन, पूर्ण स्वाचालित इलिसा रिडर, बायोकेमेट्रि एनालाइजर, युरिन एनालाइजरलगायत १७ प्रकारका उपकरण अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको छ ।

विगतमा मलेसिया जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षणमा सिन्डिकेट रहेको भन्दै सरकारले त्यस्ता करिब ४० संस्था खारेज गरेको थियो । मलेसियासँग नयाँ रोजगार सहमति भएसँगै अब मापदण्ड पूरा गरेका जुनसुकै संस्थाले समेत कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्, यसैका लागि १२६ संस्थाले आवेदन दिएका हुन् ।


क्याटेगोरी : देश, समाचार


प्रतिक्रिया दिनुहोस