परदेशमा छु, तर मन अझै घरको आँगनमा अड्किएको छ ।

रामहरी रिमाल (बिदुर १२)
अझै बर्ष दिन पनि पुगेको छैन, तर मन फेरि गाउँतिर दौडिएको छ। सम्झिन्छु—आँगन सुनसान छ होला, झाडीले छोपिसकेको होला। बर्खाको भेलले कतै घरको भित्तो चुहाएको त छैन? सम्झिन्छु त्यो घर—जहाँ ढोका बन्द गरेर, साँचो आफन्तको हातमा सुम्पेर म परदेशिएको थिएँ। भविष्य खोज्न, जिन्दगी सम्हाल्न।
बर्खा लाग्यो छिमेकी लाई फोन गर्छु—“दाइ, भारी पानी परेको रे, घर त ठिकै छ नि? खेत वारि कस्तो छ त ? दुई चार महिनामा गएर हेर्नू है। म पैसा पठाइदिन्छु, कर तिर्नु है।” तर मनले मान्दैन, मन झन् भारी हुन्छ। आफैँसँग प्रश्न गर्छु—के त्यति धेरै नै कमि थियो र? आफ्नै छानो थियो, माटोको माया थियो, आफ्नै खेतबारी, साथीभाइ थिए।
तर फेरि मन भन्छ—घर त थियो, तर जीवन खाली थियो। चाडपर्व थियो, तर म संगतबिहीन थिएँ।
आज पनि पहिलो परदेश यात्रा झल्झली सम्झन्छु—हातमा पासपोर्ट थियो, मनमा पीडा। आँखा रसाएका थिए, पछाडि फर्केर हेरिरहन्थें। थाहा थियो—परदेशमा रोएँ भने आफैं पुछ्नुपर्छ, लडेँ भने आफैं उठ्नुपर्छ। रहरभन्दा बाध्यता ठूलो थियो। सपना भारी थिए।
यहाँ बसे पनि मन त्यहीं अल्झिन्छ—आफ्नो गाउँ, आफ्नो आँगनमा। गुगल म्याप घुमाउँछु, सम्झनाको यात्रा सुरु हुन्छ। तुलसीको चौर, बगैंचाको फुल, खोलीको छ्यापछ्याप्ती पानी, आँगनको पारिजात, गोरेटोको चिउरी, घरमुनिको हर्रो—सबैकुरा एकैपटक मनभरि आउँछ। वर्षा लाग्दा मन डराउँछ—कतै खोलीले खेत बगायो कि? पहिरोले बाटो भत्कायो कि?
घरमाथि पाकेका आँपले थोरै भनेपनि खानपान चलेको थियो। कपास टिपेर कहिले स्कुल जाँदाको खर्च जोहो भएको थियो। जन्मदिनमा रोपेको रुद्राक्ष आज कत्रो भयो होला? करविरको सुवास अझै पनि पल्लाघरे डिलसम्म पुग्छ कि? उकाली-ओरालीका गोरेटाहरू झाडीले थिचे कि खाली छन्? आँगनबाट देखिने दरवार अझै देखिन्छ कि कुहिरोले ढाकिसक्यो?
टिभी खोल्दा बाढी, पहिरो, हावाहुरी, भूकम्पका खबर आउँदा मुटु घरमा पुगिसकेको हुन्छ। पल्लाघरे दाइको नम्बर टिप्छु—“दाइ, के घर ठिक छ?” भन्न मन लाग्छ। टाढा भएर पनि आफ्नोपन कहिल्यै हराउँदैन रहेछ। परदेशले मायाको जरो मेटाउन सक्दैन रहेछ।
त्यसैले त मन सधैं एकोहोरो भएर भन्छ—म परदेशमा छु, तर मेरो माया, मेरो आत्मा अझै घरको आँगनमै अड्किएको छ। हरियो डाँडा, खोलीको गर्जन, आँगनको तुलसी, आफ्नोपनको माया—यी सब आज पनि मनभित्र शीतल छाया बनेर बाँचिरहेका छन्।
क्याटेगोरी : विचार / ब्लग
प्रतिक्रिया दिनुहोस