गाम्चामा ड्रायगनको चौथो बृहत् सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम
काठमाडौं । जेठ ०१,
काठमाडौँ बुढानीलकण्ठ- १३ मा वैशाख त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा सुरू हुँदै छ ।
काठमाडौँ उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो ।
यही अवसरमा ड्रायगन युवा क्लबद्वारा चौथो बृहत् सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम घोषणा गरिएको छ । यस कार्यक्रममा स्थानीय कलाकारहरूका साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने क्लबका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका यस कार्यक्रम संयोजक रमेश श्रेष्ठ ‘प्रवेश’ ले जानकारी दिनुभएको छ ।
ड्रायगन युवा क्लब, दुई दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा तथा खेलकुदका कार्यक्रमहरूमार्फत् सकारात्मक रूपान्तरणको लागि तत्पर रही निरन्तर स्थानीयस्तरमा कार्य गर्दै आइरहेको बुढानीलकण्ठ-१३ को प्रमुख सामाजिक संस्था हो ।
समाजमा कला, साहित्य र खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र एकता कायम गर्ने हेतुले संस्थाले समयसमयमा फरक-फरक प्रतियोगिता तथा मैत्रीपूर्ण कार्यक्रमहरूको आयोजना एवं त्यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै पनि आइरहेको छ । सामाजिक दायित्व र जिम्मेवारीलाई यथोचित बहन गर्दै सदैव बुढानिलकण्ठ-१३ को हितका लागि अग्रणी भूमिका निर्वाह गरिरहेको यस संस्थाले सामाजिक, प्राकृतिक,धार्मिक, सांस्कृतिक, शैक्षिक तथा खेलकुदको सहिष्णुतामाथि सदैव सचेत रही आफ्नो कार्यहरू निरन्तर सम्पादन गर्दै आइरहेको छ । स्थानीय जात्रा, पर्वहरू समाजको समृद्धिको सूचक हुन्छन् । अत: यिनको महत्त्व पनि अधिक हुन्छन् । यसै क्लबका अध्यक्ष रोहित श्रेष्ठ बताउनुहुन्छ- स्थानीय तथा नेपाली कला, संस्कृति, साहित्य, वाङ्ग्मय, स्वास्थ्य, शिक्षा र खेलकुदको प्रोत्साहन तथा प्रवर्द्धनमा हामी सदैव कटिबद्ध छौँ ।
अहिले आयोजना गर्न लागेको यो चौथो बृहत् सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम केबल मनोरञ्जनका लागि मात्र नभई स्थानीय जात्राको प्रचार, यहाँका स्थानीय कलाकारहरूको प्रोत्साहन, स्थानीय कला र संस्कृतिको प्रवर्द्धन र सिङ्गो समाजमा एकता र सद्भाव कायम गर्ने सन्देश पनि हो । कार्यक्रम २०८१ जेठ १० गते, बुद्ध जयन्तीका दिन बुढानिलकण्ठ-१३, गाम्चा चौरमा मध्याह्न १२:०० बजेदेखि सञ्चालन हुने जानकारी आयोजकले दिएका छन् । यस कार्यक्रममा स्थानीय कलाकारहरू लगायत शान्तिश्री परियार, अस्मिता अधिकारी, प्रीती आले, मेलिना मैनाली, सरोज लामिछाने र कमल खत्री समेतको प्रस्तुति रहनेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस