पुर्णलालले रमेश महतलाई बधाई दिदै भने– ‘माननियज्यू जनताको अलिअलि दुःख कम गरिदिनुस्’
बिहीवार साँझ मत परिणाम घोषणा हुने वित्तिकै नेकपा एमालेका उम्मेदवार पुर्णलाल श्रेष्ठले नवनिर्वाचित रमेश महतलाई खादा लगाएर सम्मान व्यक्त गरे । सत्तापक्ष गठबन्धनका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश २ मा काँग्रेसका रमेशकुमार महत उम्मेदवार थिए । एमालेबाट पुर्णलाला श्रेष्ठ महतसंग प्रतिस्पर्धामा उत्रिएका थिए ।
अन्तिम मत परिणाम आउँदै गर्दा श्रेष्ठ एक हजार ८९६ मतले महत भन्दा पछि परे । आफु जित्छुनै होला भन्ने दृढताका साथ मैदानमा खटिएका श्रेष्ठले आफ्नो पराजयलाई सहज रुपमा लिदै महतलाई हार्दिकता देखाए ।
मत माग्ने क्रममा आफु जनताको घरघरमा पुगेको बताउँदै एमालेका उम्मेदवार पुर्णलाल श्रेष्ठले नव निर्वाएचित प्रदेश सांसद रमेशकुमार महतलाई जनताको दुःख नर्विसन आग्रह गरे । ‘जनतालाई असाध्यै धेरै दुःख रहेछ, मैले सामान्य रुपमा हेरेको र अहिले घरघरमा पुगेर देखेकोमा धेरै फरक पाएँ, तपाई माननिय हुनुभयो जनताको दुःख अलिकत्ति भएपनि कम गराइदिनु होला’ श्रेष्ठले महतसंग हात मिलाउँदै आग्रह गरे ।
नागरिकहरु सामान्य दैनिकीका लागि समेत कष्ट गरिरहेको र सामान्य भन्दा सामान्य अपेक्षा जनप्रतिनिधिसंग राख्ने गरेको उल्लेख गर्दै श्रेष्ठले महतलाई भने– ‘माननियज्यू जनताको अलिअलि दुःख कम गरिदिनुस् ।’
आफ्नो चुनावी एजेण्डा पनि नागरिकहरुको दुःखमा साथ रहने रहेकोमा आफु चुनिन नसकेकोमा त्यसको कार्यभार सम्हाल्न महतलाई उनले आग्रह गरे । ‘हार जित स्वाभाविक प्रक्रिया हो, हारे भनेर त्यत्ति धेरै दुःख लागेको छैन, मैले गाउँ गाउँमा कि म जित्छु कि रमेश महतले जित्नु हुन्छ, म हारे भने पनि तपाईहरुको काम गर्न उहाँलाई घरदैलोमा आउनका लागि सहयोग गर्छु भनेर वचन दिएको छु’, श्रेष्ठले महतको हात सुम्सुम्यादै भने– ‘प्लिज यत्ति चाँही साझा भावमा गरिदिनुस् है, तपाई पुरानो राजनीतिक व्यक्ति र सम्मानित हुनुहुन्छ, तपाईलाई बधाई दिन पाउँदा गर्व लागेको छ ।’
निकटतम प्रतिद्धन्द्धी रहेको श्रेष्ठको जनता केन्द्रीत अभिव्यक्ति र हार्दिकता देखेर महत भावुक भएका थिए । उनले श्रेष्ठलाई राजनीतिक दलका कारण र आफुलाई मत नहालेका र हालेका बीच विभेद गरेर आफुले कुनै काम नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । ‘तपाई ठुक्क हुनुस् पुर्णजी म साझा र साच्चिकैको जनप्रतिनिधिको रुपमा प्रस्तुत हुने छ, तपाईको साथ र सहयोगको खाँचो मलाई बेलाबेलामा परिरहन्छ, म सहयोग माग्ने छु है !’
तादी गाउँपालिकाको कार्यालय खरानीटारको प्राङ्गणमा उनीहरु बीच भएको भावुक भलाकुसारी देखेर दुवै पक्षका नेता तथा कार्यकर्ताहरु भने जिल्ल परिरहेका थिए । निर्वाचनमा आउने अन्तिम परिणाम पछि हार्ने र जित्ने पक्षबीच हुने घम्साघम्सी सल्लाह र सहयोगमा बदलिन थालेको अन्य जिल्लाका समााचार सुनेका कार्यकर्ताहरु आफ्नै आँखा अगाडी भएको दुई प्रतिस्पर्धीको संवादले अचम्म मानिरहेको थिए । ‘हार्दै गर्दा पनि पुर्णललाजीले जुन प्रकारको व्यवहार प्रस्तुत गर्नुभयो त्यो जनताप्रतिको इमान्दारिता र उच्च राजनैतिक संस्कार हो’ काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले भने ।
एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका पुर्णलाल श्रेष्ठले निर्वाचन गराउने कर्मचारीहरुलाई समेत सम्मान गरेर धन्यवाद दिएका छन् । मुख्य निर्वाचन अधिकृत टेकराज भुषाललाई खादा लगाएर सौहार्द र निष्पक्ष निर्वाचन गराएको भन्दै सम्मान गरे ।
यसै बीच, श्रेष्ठले चुनाव हो, मतदाताहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत् उनले लोकतन्त्रको सुन्दर पक्षलाई स्विकार गर्दै यस्तो लेखेका छन् ।
‘चुनाव हो, हारजित अबश्य हुन्छ । लोकतन्त्रको यो सुन्दर पक्षलाई स्विकार गर्दै बिजयी हुनुहुने मित्र रमेश महतलाई (गठबन्धन) म हार्दिक बधाई दिन चाहन्छु । संघर्षको बीचमा राष्ट्रियताको लागि अडिग रहदै पार्टीको तर्फबाट उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने नुवाकोट क्षेत्र नं. १ प्रदेश २ (ख) का सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता (ककनी, लिखु, सुर्यगढी र पञ्चकन्या १, २ र ५), समर्थक, शुभचिन्तकहरूप्रति धन्यवाद ब्यक्त गर्दछु । निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध/सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ! मतदाता, मेरो भूगोल र सबै सहयोगीहरुमा उच्च आदरभाव रहिरहनेछ !’
प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले नेकपा एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ ले हराएका थिए । महतले १३ हजार ७२७ मत ल्याएका छन् भने उनका निकटम एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाए । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट बद्री मैनालीले जितेका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।
नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश २ मा ककनी, लिखु, सुर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाको १, २ र ५ नम्वर वडा छन् ।
खबर पेज बाट
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस