तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम
नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ । मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताउनुभयो । उहाँका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।
सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।
मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस