आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन
लुतो फाल्ने पर्व अर्थात् साउने सङ्क्रान्ति आज शुक्रवार मनाइँदैछ । सौर्यमान् अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
आजको दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरूप यो पर्व मनाउन थालिएको हो प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै छ ।
महिलाहरु साउने सङ्क्रान्ति अर्थात् आजका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमवारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमवारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन हुनसक्ने बताइन्छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस