Techie IT
गृहपृष्ठसमाचारनुवाकोट एमालेमा नेतृत्व लिन तछाड मछाड

नुवाकोट एमालेमा नेतृत्व लिन तछाड मछाड


नेकपा एमालेले भोली पुस २३ गते देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको छ । दशौँ महाधिवेशनपछि एमालेले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो । २३ गते ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको छ ।
देशभर जस्तै नुवाकोटमा पनी आगामी तीन वर्षको नेतृत्व लिन तछाड मछाड भैरहेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारीसहित १ शय ५ जना जिल्ला कमिटी निर्वाचित गर्नेछ । निर्वाचित कमिटीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य व्यवस्था एमालेको बिधानमा छ ।
जिल्ला अधिवेशनले जिल्ला कमिटीमा पाँच पदाधिकारी चयन गर्ने भएपनि झण्डै दुई दर्जन आकाङ्क्षी देखिएका छन् । अहिले जिल्ला कमिटीमा रहेका उपाध्यक्ष बद्री मैनाली, सचिव बुद्धिबहादुर प्रधान, प्रदेश कमिटी सदस्य ठाकुरप्रसाद गजुरेल, बासुदेव कँडुवाल अध्यक्ष पदमाआकाङ्क्षी देखिएका छन् ।
उपाध्यक्षमा पूर्णलाल श्रेष्ठ, गणेश श्रेष्ठ, जितेन्द्र विष्ट, गीताकुमारी दाहाल, अजितमान तामाङ, सावित्री प्याकुरेल, बच्चुमाया सुनारी मगर, प्रदेश सांसद आशामाया तामाङ, विदुर वडा नं. ५ का अध्यक्ष शिव चित्रकार आकाङ्क्षी देखिएका छन् ।
सचिवमा हाल जिल्ला कमिटीका उपसचिव विष्णु लोहनी, गत छैटौँ जिल्ला अधिवेशनमा पराजित बेलकोटगढी नगरपालिकाको मेयर राजेन्द्ररमण खनाल, नारायण घिमिरे, सुदर्शन नेपाल, काशीराज अधिकारी, ठाकुर पुडासैनी, हरि अधिकारी, सम्मरबहादुर आलेमगर, अरुण श्रेष्ठ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित आकाङ्क्षी देखिएका छन् ।
दुई उपसचिवका लागि शरण उत्सुक सापकोटा, रमेश न्यौपाने, बलराम आचार्य, मनोज उप्रेती, राजेन्द्रप्रकाश पाण्डे, रोजिना राई, निर्मला अधिकारी, वीरबल तामाङ, तारादेवी रिमाल, मंगलमाया प्रजापती, सुमनराज पाठक, काजीमान डङ्गोल, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती आकाङ्क्षी रहेका छन् ।
यो जिल्ला अधिवेशनको अगाडि जिल्लामा दशौँ महाधिवेशनका लागि आधार मानिएको सङ्गठित सदस्य सङ्ख्यालाई आधार मानेर पार्टी सदस्यता नवीकरणलगायत वडा तथा पालिकाबाट जिल्ला सङ्गठन कमिटीबाट तय गरिएको मापदण्डका आधारमा जिल्लाका ८८ वटै वडाबाट प्रतिनिधि चयन गर्ने काम सम्पन्न भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100



प्रतिक्रिया दिनुहोस