Techie IT
गृहपृष्ठसमाचारविदुर नगरपालिकामा तोडफोड, एक लाख रुपैयाँ बराबरको क्षती

विदुर नगरपालिकामा तोडफोड, एक लाख रुपैयाँ बराबरको क्षती

अमानवीय व्यवहार देखाउने व्यक्तिहरुलाई दण्ड सजाय दिलाउन माग ।


विदुर नगरपालिकाको कार्यलय तोडफोड भएको छ ।
विदुर नगरपालिका वडा नम्बर १३ मा सुन्तला र कागती पकेट क्षेत्र निर्माण कार्यक्रममा भष्ट्रचार भएको भन्दै नेपाली काङ्ग्रेस इकाई समितिले सोमवार नगरपालिकाको परिसरमा भण्डाफोर कार्यक्रम आयोजना गरेको थियो । पकेट क्षेत्र निर्माणको क्रममा अनुगमन गर्दा सुन्तला र कागतीका विरुवाहरु पूर्ण भरपाई अनुसार नबाडिएको, स्थानीयको मागभन्दा कम बाडिएको, कागती र सुन्तला जातका विरुवाहरु नर्सरी बनाई त्यतिकै राखिएको, समिति गठन गर्दा स्थानीहरुलाई जानकारी नदिएको, लाभग्राहीहरुको कृतिम हस्ताक्षर बनाएको लगायत विविध कारण देखाएर उक्त कार्यक्रम आयोजना गरिएको थियो । सुन्तला र कागती पकेट क्षेत्र निर्माण कार्यक्रममा अनियमितता भएको भन्दै बजेट भुक्तानी नगर्न नगरपालिकालाई बारम्बार जानकारी गराउदा पनि बजेट भुक्तानी भएको प्रति आपत्ति जनाउदै उक्त कार्यक्रम आयोजना गरिएको वडा नम्बर १३ का वडा अध्यक्ष दलबहादुर तामाङले बताउनुभएको छ ।


आयोजित उक्त कार्यक्रममा नेपाली कांङ्ग्रेस नुवाकोटका पूर्व सभापती धु्रव अधिकारी, सचिव सुरेन्द्रराज अधिकारी, नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु लगायतका कार्यकर्ताहरु नगरपालिकाको परिसरमा सहभागि भएका थिए । भष्ट्रचार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रम अन्तर्गत नै रहेर नगरपालिकामा ताला लगाउन खोज्दा प्रहरीले हस्तक्षेप गरे पश्चात नगरपालिकाको कार्यलयमा ढुङ्गामुठा भएको थियो । उक्त क्रियाकलापले १ लाख रुपैयाँ बराबरको भौतिक सम्पतीमा क्षती पुगेको नगरपालिकाको कार्यलयले जनाएको छ ।
नेपाली काङ्ग्रेस विदुर नगरपालिका वडा नम्बर १३ इकाई समितिले सुन्तला र कागती पकेट क्षेत्र निर्माण कार्यक्रममा १३ लाख रुपैयाँ अनियमितता भएको उद्घोष गरे पनि उक्त कार्यक्रम सञ्चालनको लागि बिनियोजित बजेट ११ लाख रुपैयाँ बराबरको मात्र रहेको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिनुभएको छ । उक्त घटना पश्चात आयोजित पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका मेयर पण्डितले कागती र सुन्तलाको विरुवाको बजेट भुक्तानी नभएको बताउनुभएको छ । पकेट क्षेत्र सञ्चालन कार्यविधिमा तोकिएको मापदण्ड अनुरुप हुने गरी सहकारी मार्फत किसान छनौट, जमिनको एकिन गर्ने कार्य, पानी ट्याङ्की निर्माण तथा वितरण, मिनि टिलर खरिद तथा वितरण, किटनासक औषधी छर्ने स्पेयर खरिद तथा वितरण, विरुवा खरिद तथा ढुवानी, कृषकहरुलाई वितरण एवं वृक्षारोपण कार्य लगायतको गतिचविधि पर्दछ । प्राविधिक मूल्याङ्कनबाट छनौट भएको सहकारी मार्फत निर्माण गरिएको ट्याङ्कीको लागि २० प्रतिसत लागत सहभागिता बाहेक २ लाख ९९ हजार रुपैयाँ, ५० प्रतिसत लागत सहभागितामा मिनिटिलरको लागि ८० हजार रुपैयाँ, ५० प्रतिसत लागत सहभागितामा स्प्रे ४० हजार र २० प्रतिसत लागत सहभागितामा वितरित पाइप फिटिङको २ लाख ७९ हजार रुपैयाँ गरी ६ लाख ९८ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको नगरपालिकाका मेयर पण्डितले जानकारी दिनुभएको छ । नेपाली काङ्ग्रेस सम्वद्ध व्यक्तिहरुले भने जस्तो कागती र सुन्तलाको विरुवाको भुक्तानी नगरिएको उहाँको भनाई छ ।


सुन्तला र कागतीको पकेट क्षेत्र निर्माणको लागि बारम्वार अनुगमन भएको नगरपालिकाको उपमेयर गीता दाहालले बताउनुभएको छ । अनुगमनको क्रममा कार्यक्रमले समेट्नु पर्ने जति कागती र सुन्तला नरोपिएको पाइएकोले कागती र सुन्तलाको विरुवाको भुक्तानी गर्न नमिल्ने भनेर लिखित रुपमै नगरपालिकामा पेश गरिएको उपमेयर दाहालको भनाई छ ।
कागती र सुन्तलाको विरुवा सम्वन्धित किसानले कागजपत्रमा उल्लेख भए अनुसारको नबुझेको र किर्ते हस्ताक्षर गरेको भन्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी समेत परेको छ । त्यसको बारेमा सम्वन्धीत निकायले अनुसन्धान गर्ने प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभएको छ ।


नगरपालिकामा अमानवीय व्यवहारबाट १ लाख रुपैयाँ बराबरको क्षती पुगेकोले सिसि टिभि फुटेज तथा अन्य प्रविधिको सहयोगबाट बास्तविक अपराधीको नेतृत्व कर्ताको पहिचान गरी सार्वजनिक सम्पतीको क्षतीको असुल गरी उक्त व्यक्तिहरुलाई दण्ड सजाय दिलाउन समेत नगरपालिकाले माग गरेको छ । नगरपालिकामा भएको तोडफोडको क्रममा उपमेयरको प्रत्यासी समेत रहनुभएका गीता अमात्य घाइते हुनुभएको छ ।




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस