मेयर बिद्यासुन्दर शाक्य सहितको टिमले गरे मस्जिदहरुमा अनुगमन
काठमाडौ माहानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य सहितको टिमले काठमाडौंको ४ ओटा मस्जिदहरुमा अनुगमन गरेका छन् ।
वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने र उनीहरु कोरोना संक्रमित हुन सक्ने भन्दै मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने रत्नपार्क्स्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदमा अनुगमन गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललगायतको टोलीले अनुगमन गरेका हुन् ।
प्रमुख शाक्यले अनुगमन गरेको स्थानहरुको अवस्था सामान्य रहेको बताए । उनले अहिले पनि ती मस्जिदहरुमा नवाज पढ्ने काम निरन्तर भैरहेको भन्ने आशंकालाई मध्यनजर गर्दैे अनुगमन गरेकोे बताए ।
प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा मनाइने पाहाँचः¥हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरूलाई मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्दै भीडभाडमा ती जात्रापर्व नमनाउन यस अघि नै अपिल गरिसकेका छन् । महानगरवासीलाई ढुक्क हुने वातावरण निर्माण भएको र अनुगमन नियमित गर्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस