Techie IT
गृहपृष्ठदेशप्रधानमन्त्रीको फेसबुकमा बेलिब्रीज, हेंवा खोलाको वास्तविकता यस्तो

प्रधानमन्त्रीको फेसबुकमा बेलिब्रीज, हेंवा खोलाको वास्तविकता यस्तो


आइतबार राती १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेखे ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ जोड्ने पुल मर्मत गरी आवागमन सञ्चालन गरिएको छ । बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने बेलिब्रीज जडान सुरु भएको छ ।

प्रधानमन्त्रीको स्ट्याटस आउनासाथ नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले स्क्रिन सटसहित प्रतिवाद गरे– ‘प्रधानमन्त्रीज्यूलाई कसले गलत सूचना दिन्छ ? हेंवा खोलामा बेलिब्रीज मर्मत गरेर सवारी साधन सन्चालन गरिएको होइन फड्के मात्र बनेको हो । बेलिब्रीज राख्न त महिनौं लाग्छ । बगाइसकेको बेलिब्रीजको मर्मत हुने कुरै भएन ।’ आङ्बो सँगै सयौंले प्रधानमन्त्री ओलीको स्ट्याटसको आलोचना सुरु गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुकमा लेखिएको स्ट्याटस १२ मिनेटपछि सम्पादन गरियो । सम्पादित स्टाटसमा हेंवा खोलामा बाढीले बगाएको पुल मर्मत गरी यातायात सञ्चालन सुरु गरिएको उल्लेख भयो । त्यो सूचना पनि सहि थिएन । पुनः आलोचना गर्नेहरु थपिँदै गए ।

दोस्रो पटक स्ट्याटस सम्पादन भयो । जहाँ हेंवा र सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको उल्लेख थियो । प्रधानमन्त्री तेस्रोपटक पनि चिप्लिए, स्ट्याटसमा लेखिए जस्तो हेवाखोलामा बेलिब्रिज जडान सुरु भएको थिएन र छैन पनि । चौथो पटक पुनः स्ट्याटस सम्पादन गरियो जहाँ पाँचथर ताप्लेजुङ जोड्ने हेंवा खोलामा फड्के बिछ्याउने काम सकिएको उल्लेख छ ।

प्रधानमन्त्रीको फेसबुकमा चौथो पटक सम्पादन गरेर लेखिए अनुसारको फड्के भने असोज १८ गते निर्माण सकेर सञ्चालनमा आएको हो । तर त्यहाँ लेखिए जस्तो हेंवा खोलाले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना जोड्दैन यो खोलो पाँचथरको फिदिम–४ र हिलिहाङ–७ लाई सिमाना छुट्याएर बगेको छ ।देशका कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिको फेसबुकमा पटक पटक सम्पादन गरिए जस्तो बेलिब्रीज निर्माण, जडान वा बाढीले बगाएको पुल मर्मत भएको छैन । गत वर्ष जडान गरिएको बेलिब्रिज बाढीले नामो निसान नरहने गरी बगाएको छ । यहाँ तत्काल पुल वा बेलिब्रिज बन्ने सम्भावना छैन ।

 

 


क्याटेगोरी : देश, रासस, समाज


प्रतिक्रिया दिनुहोस