बोइलर कुखुरा छोडेर टर्की
लिखु । लिखु गाउँपालिका वडा नम्बर २ का हरिप्रसाद ढकालले विसं २०७३ सालदेखि एच.बि.आर.डि. पशुपन्छी फर्म मार्फत बोइलर कुखुरा पालन गर्दै आइरहेका थिए । बोइलर कुखुराबाट भन्दा टर्कीबाट राम्रो आम्दानी हुने जानकारहरुले बताए पछि विगत एक वर्षभन्दा बढी समयदेखि टर्की पालन व्यवसाय गर्दै आइरहेका छन् । टर्की व्यवसायबाट लगानी कम आम्दानी बढी हुने गरेको ढकालको अनुभव रहेको छ ।
‘लामो समयदेखि टर्की व्यवसाय गर्दै आएका साथीसँग बुझ्दा बोइलर कुखुरा व्यवसायभन्दा ठिक लाग्यो । गत वर्षको असारदेखि ३ सय वटा चल्लाबाट सुरु गरेको व्यवसायले ६ महिना पछि अण्डा उत्पादन गर्न थाल्यो । फर्मबाट उत्पादन भएको अण्डाबाट ह्याचरी मार्फत चल्ला उत्पादन गरि राम्रो विक्री भइरहेको छ,’ ढकालले भने, ‘कुखुरालाई भन्दा टर्कीलाई दानापानी गर्न सहज हुन्छ । रोग लाग्ने सम्भावना पनि न्यून हुदो रहेछ ।’
बोइलर कुखुरा मासुको लागि योग्य भए पछि व्यापारी मार्फत बजार पुराउँदा उचित मूल्य नआउने र लगानी समेत उठ्न गाह्रो हुने भएता पनि टर्कीको बजार व्यवस्थापन गर्नलाई कठिन नभएको उनको भनाई छ । साथै टर्कीमा लगानी गरेमा घाटा व्यहोर्नुपर्छ भन्ने डर नहुने उनले बताए । ‘टर्कीको मासु कुखुराको तुलनामा स्वादिष्ट हुने गरेकोले पनि होला स्थानीय बजारमा नै माग बढ्दो क्रममा रहेको छ । बजार मूल्य नै सम्वन्धित किसानले पाइरहेको अवस्था छ । विचौलिया हाबी हुन पाएको छैन ।’ उनले भने, ‘टर्की पालक किसानहरु एकापसमा संगठित भएको खण्डमा वजार व्यवस्थापन गर्नलाई त्यति धेरै कठिन पर्दैन । हाल पनि हामी ६÷७ जना सहकार्य गरेर व्यवसायलाई अघि बढाइरहेका छौँ ।’
करिव ६ लाख रुपैयाँ लगानी गरी सुरु गरिएको टर्की व्यवसायबाट सन्तुष्टि मिलिरहेको उनले बताए । पशुपन्छीसँग सम्वन्धीत रहेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गर्ने निति तथा कार्यक्रम सँगै बजेटको व्यवस्था सरकारले गरेको भए पनि बास्तविक व्यवसायीले लाभ लिन नपाएको गुनासो ढकालको रहेको छ ।
क्याटेगोरी : देश, बिबिध, समाचार, समाज
ट्याग : #hot, #hot 100
प्रतिक्रिया दिनुहोस