पाटन संयुक्त क्याम्पसको ५१ रोपनी जग्गामा व्यक्तिको दाबी
महँगा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमाफिया सक्रिय छन् । ललितपुरको पाटन संयुक्त क्याम्पसकै ५१ रोपनी जग्गा व्यक्तिले आफ्नो दाबी गरेर मुद्दा दायर गरेका छन् । त्यस्तै गोठाटारमा रहेको १४ रोपनी १२ आना सार्वजनिक जग्गा पनि व्यक्तिले दाबी गरेर मुद्दा दायर गरिएको छ । एक गुठीले समेत सो जग्गा आफ्नो मातहत ल्याउने प्रयास गरिरहेको छ । भक्तपुरको सुडालमा रहेको ७१ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न एउटा समूह नै योजनाबद्ध रूपमा लागेको छ ।
प्रहरीकै जग्गामा समेत भूमाफियाले आँखा लगाएका छन् । काभ्रेको पनौतीमा तालिम केन्द्र बनाउन सरकारले प्रहरीलाई दिने निर्णय गरेको २७ रोपनी जग्गा दर्ता गर्न छुटेको दाबी गर्दै स्थानीय सर्वोच्चसम्म पुगेका छन् ।
त्यस्तै चाबहिलको ओम अस्पतालपछाडि धोबीखोला किनारको सात रोपनी जग्गाको मुद्दा पनि सर्वोच्चमा छ । सर्वोच्चले त्यहाँ एक व्यक्तिले बनाएको घरले चर्चेको जग्गाबाहेक अरू सार्वजनिक हुने फैसला गरेको छ । ती व्यक्तिले बाँकी जग्गा पनि आफ्नो हुनुपर्ने भन्दै मुद्दा हालेका छन् । त्यहाँ अहिले ड्राइभिङ सेन्टर सञ्चालन भइरहेको छ । त्यस्तै, कपिलवस्तुको वाणगंगा नदी किनारको ८९ बिघा जग्गासमेत व्यक्तिको नाममा दर्ता गर्न मुद्दा दायर गरिएको छ । नवलपरासीको कावासोतीमा १९ बिघा, महोत्तरीको बर्दिबासमा १९ बिघा र तनहुँमा ३६ रोपनी सार्वजनिक जग्गा दाबी गरी व्यक्तिहरूले मुद्दा दायर गरेका छन् ।
क्याटेगोरी : देश, पत्र-पत्रीका, समाचार, समाज
प्रतिक्रिया दिनुहोस