बोर्डिङ-कलेज हैन अब शिक्षा मन्त्रालय र बिभाग बन्द गर्छौं: अध्यक्ष ढकाल
चैत्र १३, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ढकालले बिद्यार्थी आन्दोलनलाई नयाँ ढंगले उठान गर्ने घोषणा गरेका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलनमार्फत अखिल(क्रान्तिकारी)ले २१ औं राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले विद्यार्थी आन्दोलन पटकपटक सम्झौतामा लगेर टुंग्याइएको भन्दै आफुहरुले सम्झौताहिन ढंगले अन्दोलनलाई अन्तिम निष्कर्षमा पुर्याउने अठोट व्यक्त गरे ।
“अब स्कुल कलेज मात्रै बन्द गरिदैन,” उनले भने, “विद्यार्थीहरुको हितमा, अभिभावकको पक्षमा शान्तिपुर्ण आवाज उठाउदा हाम्रो कुरा सुनुवाइ भएन भने हामी शिक्षा मन्त्रालय र शिक्षा बिभाग बन्द गर्ने आन्दोलनको सिर्जना गर्छौ ।”
अखिल(क्रान्तिकारी) नयाँ स्वरुप र शैलीमा सशक्त रुपमा सडकमा ओर्लिने उद्घोष गर्दै उनले शैक्षिक माफिया र दलालहरुको लुटको शृङ्खला ध्वस्त हुने चेतावनी दिएका छन् ।
संगठनले तीन महिना लामो ‘संगठन बिस्तार तथा सुदृढ अभियान’ सहित चैत्र २७ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संगठनका उपाध्यक्ष रुद्र भट्टराईले राज्य र संसदीय पार्टीहरुले समाजवादको नारा दिएता पनि व्यबहारमा शैक्षिक ब्यापारी, दलाल र माफियाहरुलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै निर्णायक आन्दोलनको खाँचो औल्याएका थिए ।
अखिल(क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलन गत फागुन २७ देखि ३० दाङको घोराहीमा सम्पन्न भएको थियो ।
चैत्र ८ र ९ गते नवलपरासीमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्षमा चिरञ्जीवी ढकाल, उपाध्यक्षमा रुद्र भट्टराई, महासचिवमा प्रकाश शाही, सचिवमा सन्तोषी भट्टराई र कोषाध्यक्षमा नरेन्द्र बिकलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।
क्याटेगोरी : देश, राजनीति
प्रतिक्रिया दिनुहोस