तिमी छैनौ नि आमा
जितेन श्रेष्ठ
मलाई लाग्छ म मेरो जीवनको मध्य बिन्दुमा आइपुगेको छु
मेरो बालापन गएको छैन, मैले ओझेलमा छिपाएको मात्र छु
किनकि मेरो बालापनमा रमाउने तिमी छैनौ नि आमा
त्यसैले त म परिपक्वता यतै कता शून्यताबाट खोजिरहेको छु
दश औँला जोडिएका थोरबहुत सम्मान त मैले पाएकै छु
म तिम्रो शरणमा परी जिन्दगीकै समर्पण गर्न पो चाहन्छु
तर म जति नै गण्यमान्य भएर पो के गर्नु, रमाउने तिमी छैनौ नि
आमा त्यसैले त म परिपक्वता यतै कता शून्यताबाट खोजिरहेको छु
दु:ख जति आफ्नै भागमा राख्यौ, म त ऐसआराममा बाँचेको छु
धन सम्पत्ति पनि त म चाहिने जति वा अझै बढी कमाउन सक्छु
कमाएर के गर्नु अस्ताएकी तिमी, अब उदाउँदिनौ नि आमा
त्यसैले त म परिपक्वता यतै कता शून्यताबाट खोजिरहेको छु
आफ्नो जिम्मेवारी कुनै बाँकी राखेनौ त म यत्तिको लायक भएको छु
सहरमा ओत लाग्ने महल ठडाइदियौ, म त शानले नै बसेको छु
रुझिसकेँ पीडाको वर्षाले किनकि ममताको छहारी छैन नि आमा
त्यसैले त म परिपक्वता यतै कता शून्यताबाट खोजिरहेको छु
आफन्तहरूकै भिडमा यताउता भौँतारिई लड्खडाइरहेको छु
सबै छन् यहाँ देख्नलाई तै पनि म एक्लो महसुस गरिरहेको छु
निःस्वार्थी शुभचिन्तक ममतामयी तिमी छैनौ नि आमा
त्यसैले त म परिपक्वता यतै कता शून्यताबाट खोजिरहेको छु ।।
क्याटेगोरी : साहित्य
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस