Techie IT
गृहपृष्ठअन्तरास्ट्रियश्रीलंकामा रक्षा सचिव र प्रहरी प्रमुख हटाइँदै

श्रीलंकामा रक्षा सचिव र प्रहरी प्रमुख हटाइँदै


श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई राजिनामा दिन भनेका छन्।

राष्ट्रपति सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई बोलाएर राजीनामा दिन भनेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

बुधवार टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले २४ घण्टा भित्र सुरक्षा निकायहरूमा परिवर्तन गर्ने र आउने दिनमा सुरक्षा निकायको पुनर्संरचना गर्ने बताएका थिए।

सो सम्बोधनमा उनले भनेका थिए – आक्रमणबारे विदेशी मुलुकबाट प्राप्त सूचना सुरक्षा निकायले मलाई दिएनन्। सूचना प्राप्त भएको भए त्यहीबेला कदम चाल्न हुन्थ्यो।

भारत र अमेरिकाबाट श्रीलंकालाई आक्रमणको सम्भावनाबारे सूचना आएको थियो भन्ने अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन्।

केही दिनअघि भारतमा पक्राउ परेका एकजना व्यक्तिले इस्लामिक स्टेटले श्रीलंकामा आक्रमण गर्दै छ भन्ने सूचना चुहाएका थिए।

सो सूचनासहित तीनवटा सूचना भारतीय अधिकारीहरूले श्रीलंकाका सुरक्षा निकायहरूलाई दिएको थियो। पहिलो सूचना आक्रमण हुनुभन्दा १६ दिन अगाडि, दोस्रो सूचना आक्रमण हुनु एक दिन अघि र तेस्रो सूचना आक्रमणको एक घण्टाअघि श्रीलंकन अधिकारीहरूलाई दिएको सिएनएनले जनाएको छ। सो सूचनामा चर्च र होटलहरूमा आक्रमण हुनसक्ने बताइएको थियो।

आइतबार चारवटा चर्च तथा होटलहरूमा भएको आक्रमणबाट मर्नेहरूको संख्या तीनसय २१ पुगेको छ। त्यसमध्ये ३८ जना विदेशी छन्। इस्लामिक स्टेटका ८ जना समर्थक सो आक्रमणमा सरिक भएको सञ्चारमाध्यामले जनाएका छन्।

आत्मघाती बम विष्फोट गर्नेहरूमा २ जना श्रीलंकाका एक धनी व्यापारीका छोराहरू पनि छन्। इस्लामिक स्टेटका कतिपय समर्थकहरू अझै श्रीलंकामा काम गरिरहेको र तिनीहरूले श्रीलंकामा आक्रमण गर्नसक्ने भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले नागरिकहरूलाई सचेत गराएका छन्।

पत्रकार सम्मेलन गर्दै उनले भने – अझैपनि केही आतंकवादीहरू बम लिएर हिँडिरहेका हुन सक्छन् हामी सचेत रहनुपर्छ।

विष्फोटक सामाग्री बोकेका दुईवटा गाडी अझै कोलम्बोमा लुकाएर राखिएको आशंका सुरक्षानिकायहरूले गरेका छन्।

पुनस् आक्रमण हुनसक्ने यी सूचनाले आम मानिसहरूमा त्रास फैलिएको छ। श्रीलंकाभरी संकटकाल र कर्फ्यु लगाइएको छ। सुरक्षा निकायहरूले सम्भावित आक्रमणकारीहरूको खोजी तिव्र बनाएका छन्।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार


प्रतिक्रिया दिनुहोस