Techie IT
गृहपृष्ठअर्थतन्त्रगरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रमः सामरीमा लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिम सम्पन्न ।

गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रमः सामरीमा लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिम सम्पन्न ।


भगवती लामा/केदार ढकाल
विदुर । म्यागङ गाउँपालिकाको उद्योग विकास शाखाले लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिम प्रदान गरेको छ ।
नेपाल सरकार उद्योग मन्त्रालयको सहयोगमा सञ्चालित गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत रहेर सञ्चालन गरिएको लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिम म्यागङ गाउँपालिका वडा नम्बर ५ मा समापन गरिएको छ । समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले सेवा प्रदायक सस्थामा आवद्ध व्यक्ति स्वयं उद्यमी तथा व्यवसायी भएको खण्डमा मात्र भष्ट्रचारको गतिविधिलाई न्यूनिकरण गर्न सकिने बताउनुभएको छ । त्रिशुली अस्पताल नुवाकोटको हातामा खाजाघर सञ्चालन गर्नुको साथै निर्माण व्यवसायमा समेत आवद्ध भएको जानकारी गराउनुहुदै उहाँले दिर्घकालिन सोच र लक्ष्यको साथ आफ्नो कामलाई निरन्तरता दिन सकेको खण्डमा सफल उद्यमी तथा व्यवसायी बन्न सकिने बताउनुभएको छ । निर्वाचनको समयमा राजनैतिक पार्टीको झण्डा मुनि बसेर जनप्रतिनिधि बन्न चाहेको भए पनि जनप्रतिनिधिको रुपमा निर्वाचित भए पश्चात सबैको साझा व्यक्तिको रुपमा रहेर काम गरिरहेको र आगामी दिनमा पनि साझा व्यक्तिको रुपमा नै रहेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले व्यक्तिलाई सक्षम बनाउन लगनशिलताको आवस्यक रहेको बताउनुभएको छ । व्यक्तिमा लगाव र मेहनत गर्ने बानी भएको खण्डमा स्थानीय सरकार, वितिय संघसस्था लगानीको ढोका खोल्न तयार रहेको उपाध्यक्ष लामाले बताउनुभएको छ । प्रत्येक व्यक्तिले स्वस्थ, व्यस्त र व्यवसायी कसरी रहने र बन्ने भन्ने विषयमा केन्द्रित भएको खण्डमा सफल जीवनको ज्यून सकिने उहाँको भनाई छ । नागरिकको इच्छा, लगनशिलता र मागको आधारमा गाउँपालिकाले निति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्था गर्दै आइरहेको समेत उपाध्यक्ष लामाले बताउनुभएको छ ।
लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिम यहि वैशाख १० गतेदेखि सुरु भएको थियो । पाँच दिन सम्म सञ्चालित उक्त तालिमले आत्मनिर्भर हुनलाई प्रेरित गरेको सुपबहादुर तामाङको भनाई छ । जनप्रतिनिधिहरुले नागरिकहरुलाई आर्थिक उपार्जनमा लगाउँन खोजे पनि नागरिकको प्रयाप्त मात्रामा त्यता ध्यान केन्द्रित हुन नसकेको तालिममा सहभागी मध्येका एक तामाङले बताउनुभएको छ ।
यस्तै व्यवहारिक भन्दा सैद्धान्तिक रुपमा प्रदान गरिने तालिमहरुले उद्यम गर्नलाई सहज भन्दा असहज अवस्था सिर्जना हुने गरेको तालिमका अर्का सहभागी सन्ध्या तामाङको गुनासो रहेको छ । स्थानीय तह तथा गैरसरकारी संघसस्थाबाट प्रदान गरिने अपुरो तालिमका कारण सफल उद्यमी बन्नलाई चुनौती थपिने गरेको उहाँको भनाई छ । हाल श्रीमानलाई मिस्त्री काम गर्न छुटाएर आफैले कुखुरा फार्म खोलेर व्यवसाय सञ्चालन गरिरहेको भन्दै उहाँले त्यसलाई निरन्तरता दिन तालिमले हौसला प्रदान गरेको बताउनुभएको छ ।

 


उद्यमी तथा व्यवसायीहरुले कार्य सम्पादन गर्दा आइपर्ने कमिकमजोरी, उद्यम तथा व्यवसायमा सफल असफल हुनुको कारण, व्यवस्थापन पक्षलाई समेटेर गाउँपालिकाको पहिलो कार्यक्रमको रुपमा वडा नम्बर ५ मा लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिम प्रदान गरिएको हो । तालिममा बजारीकरण रणनितिको बारेमा चर्चा गर्नुको साथै व्यवुसाय सञ्चालन गर्दा आइपर्ने समस्या समाधानको लागि गर्नुपर्ने प्रयासको बारेमा छलफल गरिएको सञ्चालित गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता समिक्षा तामाङले बताउनुभएको छ । व्यवसायबाट भविष्यमा नाफा कमाइराख्न लागतलाई नियन्त्रण गर्दै निरन्तरता दिनलाई तालिमले प्रेरित गर्नुको साथै नगदी खाता, विक्रि खाता, खरिद खाता लगायतको विषयमा जानकारी तथा छलफल गराइएको तामाङले बताउनुभएको छ ।
गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रहेर सामाजिक परिचालन, उद्यमशिलता तालिम, सिप विकास तालिम, लघु कर्जा पहुच, बजार व्यवस्थापन र प्रविधि हस्तान्तरण गतिविधि सञ्चालन हुनेछ । लघु उद्यमीको स्तरउन्नतीको लागि व्यवसाय सुधार तालिममा गाउँपालिका भरिबाट ५० जनालाई सहभागी गराउने लक्ष्य रहे अनुसार वडा नम्बर ५ बाट १७ जनालाई सहभागी गराइएको र बाँकीलाई अन्यलाई वडागत रुपमा तालिम प्रदान गरिने सहजकर्ता समिक्षा तामाङले बताउनुभएको छ ।
यस्तै म्यागङ गाउँपालिका वडा नम्बर ५ मा नै लघु उद्यमीको लागि वितिय संघसस्थासँग १ दिने अन्तरक्रिया गोष्ठि सञ्चालन गरिएको छ । गोष्ठिमा ज्योती विकास वैङ्क सामरी शाखाका प्रमुख सुजन वज्रचार्यले सहुलियतपूर्ण कर्जा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।
यस्तै कार्यक्रममा वडाअध्यक्ष रामबहादुर तामाङले तालिम तथा गोष्ठिबाट सिकेको सिपलाई व्यवहारमा लागु गरेर सफल उद्यमी तथा व्यवसायी बन्न आग्रह गर्नुभएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।




क्याटेगोरी : अर्थतन्त्र, विचार / ब्लग, समाचार, समाज


प्रतिक्रिया दिनुहोस