प्रधानमन्त्री ओलीको प्रतिबद्धता: “बालबालिकाले सडकमा बस्न नपरोस्, स्नेहमय जीवन पाउन्”

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न नपर्ने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने स्पष्ट पार्नुभएको छ। बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो।
बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बालबालिकाका समस्या सुनिसकेपछि भावुक हुँदै भन्नुभयो, “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न सक्दिनँ। म चाहन्छु, उनीहरू सँधै मुस्कुराइरून्। सामन्ती व्यवस्थाको शोषणमा बालबालिकाका आवाज सुन्ने अवस्था थिएन, तर आज म प्रधानमन्त्रीका रूपमा उनीहरूको आवाज सुनिरहेको छु।”
प्रधानमन्त्री ओलीले सरकारले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै देशको आर्थिक र सामाजिक रूपान्तरणसँगै बालबालिकाको हितमा निरन्तर काम भइरहेको बताउनुभयो।
उहाँले आफूले जीवनमा कहिल्यै बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द गाली नगरेको अनुभव सुनाउँदै बालबालिकालाई सधैं माया र संरक्षणमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
“मैले धेरै बालबालिकाको अभिभावकत्व लिएको छु र पढाएको छु,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी देशभरका बालबालिकालाई स्नेहमय वातावरणमा हुर्काउन चाहन्छौं। बालश्रममा परेका बालबालिकालाई हटाएर राम्रो व्यवस्था गर्नुपर्छ।”
कार्यक्रममा सहभागी प्रथम महिला राधिका शाक्यको उपस्थितिमा विभिन्न स्थानबाट आएका १९ जना बालबालिकाले बालश्रम र अन्य समस्याबारे प्रधानमन्त्रीलाई सामूहिक चिठी बुझाएका थिए।
एनसिपिएका पूर्व अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि वर्तमान कानुनी व्यवस्थामा संशोधन आवश्यक रहेको बताउनुभयो। त्यस्तै, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी–नेपाल) का सहअध्यक्ष नरेन्द्र डङ्गोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्र दुवैको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया दिनुहोस