रास्वपा र बालेनबीच ७ बुँदे सहमति, बालेन प्रधानमन्त्रीका उम्मेदवार, रवि सभापति
काठमाडौं ।
लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे राजनीतिक सहमति भएको छ। मध्यराति सम्पन्न सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइने उल्लेख छ।
सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहिद परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
सहमति अनुसार बृहत् एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख छ।
पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गरिने र जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमतिमा भनिएको छ।
आसन्न आमनिर्वाचनपछि सहमतिअनुसार पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य वैकल्पिक, परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गर्ने निर्णय गरिएको छ।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस