वैदेशिक रोजगारीमा रहेर पनि खेलकुदमा योगदान : लोप्चन तामाङ का दाजुभाईद्वारा कल्लावारी डोजोलाई सहयोग
	
				
			
वैदेशिक रोजगारीमा रहेका अशोक लोप्चन तामाङले म्यागङ गाउँपालिका–५ मा रहेको सितोरियो कराते डो सामरी कल्लावारी डोजोका खेलाडीहरूलाई आर्थिक सहयोग गरेका छन्।
अशोक लोप्चन तामाङ र उनका दाजु कमानसिङ तामाङ (पूर्व कराते खेलाडी)ले मिलेर डोजोका खेलाडीहरूलाई १२ हजार ५ सय रुपैयाँ र म्यागङ–५ का चार जना असहाय व्यक्तिहरूलाई २४ हजार रुपैयाँ सहयोग गरेका हुन्।
सहयोग रकम सोमबार आयोजित एक कार्यक्रममा खेलाडीहरूलाई हस्तान्तरण गरिएको थियो।
कल्लावारी डोजोबाट बागमती प्रदेशस्तरीय राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा एकल काता तेस्रो स्थान हासिल गरेकी ओस्प्रिना तामाङ र ११औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०८२ को ११ वर्ष उमेर समूहमा स्वर्ण पदक विजेता आयुष तामाङ सहित सबै खेलाडीहरूलाई उक्त सहयोग गरिएको हो।
पूर्व खेलाडी समेत रहेका अशोक लोप्चन तामाङले आफ्नो अधुरो खेलकुद सपना यी खेलाडीहरूले पूरा गरून् भन्ने उद्देश्यले सहयोग गरेको बताए। उनले आगामी दिनमा पनि खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस अवसरमा डोजोका प्रशिक्षक गणेश तामाङले स्थानीय तहले खेलकुद क्षेत्रप्रति बेवास्ता गरिरहेको बेला अशोक लोप्चनजस्ता दाताहरूले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै भने,
“यस्ता सहयोगले हामीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सहज भएको छ।”
प्रशिक्षक तामाङका अनुसार कल्लावारी डोजोले म्यागङ गाउँपालिकालाई कराते खेलमार्फत देश–विदेशमा चिनाइरहेको छ। उनले नोभेम्बर २२ र २३ तारिखमा भारतको आग्रामा हुने ८औं इन्टरनेशनल कराते प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको जानकारी पनि दिए।
गत वर्ष पनि अशोक लोप्चन तामाङले सोही डोजोलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए।
क्याटेगोरी : समाचार




				
				
				
				
				
				
				
				


















प्रतिक्रिया दिनुहोस