जालपादेवी मन्दिरमा लिंगे पिङ : वडादशैंको उल्लाससँगै भक्तजनलाई सुविधा

विदुर, नुवाकोट । नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरमा भक्तजनहरूको सुविधा र रमाइलोका लागि लिंगे पिङ जडान गरिएको छ। यस कार्यले मन्दिर आउने भक्तजन र स्थानीयमा खुसी थपिएको छ।
विदुर नगरपालिका–५, देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थलमा अवस्थित जालपादेवी मन्दिर परिसरमा बुधबार देवीघाट जालपा क्लबले एक थान लिंगे पिङ स्थापना गरेको हो। पिङ जडानमा क्लबका पदाधिकारी, स्थानीयवासी तथा नेपाली सेनासहित करिब १० जनाको सक्रिय सहभागिता रहेको क्लब अध्यक्ष नवीन चित्रकारले जानकारी दिए।
उनका अनुसार वडादशैंमा टिकाजमरा ग्रहण गरेपछि “एक पटक धर्ती छोड्नुपर्छ” भन्ने परम्परागत मान्यतालाई जोड्दै भक्तजनहरूको सुविधाका लागि पिङ जडान गरिएको हो।
यस वर्षको बडादशैंको अवसरलाई विशेष बनाउने उद्देश्यसहित जडान गरिएको यो लिंगे पिङ तिहारसम्म पनि सञ्चालनमा रहने जनाइएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस