दुर्गा पक्ष प्रारम्भ : घरघरमा घटस्थापना, बडादशैँको रौनक फैलियो

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइन्छ।
पहिलो दिन अर्थात् घटस्थापनाको दिन बिहानै घरघरमा विधिपूर्वक दियो, कलश र गणेशसहित देवी दुर्गाको आह्वान गरी पूजाआरम्भ गरिन्छ। पूजाकोठा वा दसैँ घरलाई गाईको गोबरले लिपपोत गरी पवित्र बनाएपछि त्यहाँ बालुवा वा माटो राखी त्यसमा यव (जौ) रोपिन्छ। यसलाई जमरा राख्ने परम्परा भनिन्छ।
जमरालाई दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। विजयादशमीका दिन देवीको प्रसादसहित पहेँलो जमरा ग्रहण गरी टीका लगाउने परम्परा छ, जसलाई समृद्धि र विजयको प्रतीक मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार धर्मशास्त्रमा जमरा राख्दा केवल जौ प्रयोग गर्ने व्यवस्था छ। तर, कतिपय स्थानमा कुल परम्परा अनुसार अन्य अन्न पनि रोप्ने चलन पाइन्छ। जमरालाई धार्मिक महत्व मात्र नभई आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग गरिने उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस