नुवाकोटका दुप्चेश्वर, ककनी र पञ्चकन्या उत्कृष्ट

नुवाकोटका दुप्चेश्वर, ककनी र पञ्चकन्या उत्कृष्ट
नुवाकोट – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) को नतिजामा नुवाकोटका तीन गाउँपालिका उत्कृष्ट सूचिमा परेका छन्।
गत आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा दुप्चेश्वर गाउँपालिका देशभरकै उत्कृष्ट बनेको छ। दुप्चेश्वरले कुल १०० अंकमध्ये ८४.७५ अंक ल्याएर पहिलो स्थान हासिल गरेको हो। ककनी गाउँपालिकाले ८१.७५ अंकसहित दोस्रो र पञ्चकन्या गाउँपालिकाले ७८.७५ अंकसहित तेस्रो स्थान सुरक्षित गरेका छन्।
नुवाकोटका अन्य गाउँपालिकामध्ये किस्पाङले ७७.२५ अंक, बेलकोटगढी नगरपालिकाले ७५.५० अंक, विदुर नगरपालिकाले ७२.२५ अंक, शिवपुरीले ७०.५० अंक, तादीले ६९.७५ अंक, लिखुले ६८.५० अंक, सूर्यगढीले ६२.५० अंक, म्यागङले ५९.७५ अंक र तारकेश्वरले ४९.७५ अंक प्राप्त गरेका छन्।
हाल नुवाकोटका १२ स्थानीय तहमध्ये ६ वटामा नेपाली कांग्रेस, ५ वटामा माओवादी केन्द्र र १ वटामा एमालेको नेतृत्व छ।
लिसा मूल्याङ्कनले स्थानीय तहका नीतिगत व्यवस्था, प्रशासनिक क्षमता, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापनलगायतका सूचकको आधारमा अंक निर्धारण गर्ने गर्दछ।
मन्त्रालयका अनुसार यस मूल्याङ्कनले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने, कमजोरी पहिचान गरी सुधार गर्ने तथा उपलब्धि उजागर गर्ने उद्देश्य राखेको छ।
नुवाकोट, ऐतिहासिक, धार्मिक र पर्यटकिय सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्थानीय तहले पाएको परिणामलाई महत्वपूर्ण उपलब्धि मानिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस