नुवाकोटमा निजी विद्यालय सञ्चालकहरूको बस र्याली, शिक्षा विधेयक सच्याउन दबाब

नुवाकोट – विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै नुवाकोटका निजी विद्यालय सञ्चालकहरूले विदुर र बट्टार बजार क्षेत्रमा स्कुल बससहित र्याली निकालेका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गरेको सो र्यालीले अन्य यातायातसमेत प्रभावित भएको थियो। र्याली गगटेबाट सुरु भई बट्टार हुँदै विदुरमा पुगेर समापन गरिएको थियो।
सञ्चालकहरूले विधेयकमा राखिएको “पूर्ण छात्रवृत्ति” र “गैरनाफामूलक” भन्ने शब्द हटाउन माग गर्दै सरकारलाई दबाब दिइरहेका छन्। उनीहरूको भनाइमा हाल विद्यालयहरूले दिँदै आएको १०% छात्रवृत्ति पर्याप्त छ र त्यसलाई थप विस्तार गर्न सकिँदैन।
र्यालीमा प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारी, विदुर प्याब्सनका अध्यक्ष रामराजा कुमालसहित विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सञ्चालकहरूले चेतावनी दिंदै भने, “यदि सरकार माग सम्बोधन गर्न तयार भएन भने भदौ १८ गतेदेखि विद्यालयको चावी बुझाएर विद्यालय बन्द गर्ने बाध्यता हुनेछ।”
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस