Techie IT
गृहपृष्ठसमाचारमुख्यमन्त्री लामाको राजीनामा आज, बानियाँ सोमबार नयाँ मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी

मुख्यमन्त्री लामाको राजीनामा आज, बानियाँ सोमबार नयाँ मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी


बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आज पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र नेता इन्द्र बहादुर बानियाँसँगको सहमतिअनुसार लामाले राजीनामा दिन लागेका हुन्।

लामा आइतबार बिहान हेटौंडा पुगेर प्रदेश प्रमुखलाई राजीनामा बुझाउने निश्चित भएको छ। देउवा निवास बुढानीलकण्ठमा देउवाको उपस्थितिमा इन्द्र बानियाँ र लामा पक्षका १३ जना सांसदबीच सहमति भएपछि लामा राजीनामा दिन तयार भएका हुन्। उक्त जानकारी लामा समर्थक प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले दिएका हुन्।

चित्रकारका अनुसार, लामा पक्षले प्रस्ताव गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदको सपथ गराउनु पर्ने र सत्ता साझेदारीमा सरकार सञ्चालन गर्ने सहमति भएपछि लामाले मार्गप्रशस्त गर्न राजीनामा दिन सहमति जनाएका हुन्।

यसअघि नियुक्त भएका ती तीन मन्त्रीको सपथ बुधबार तय भए पनि नेकपा एमालेको असहमतिको कारण रोकिएको थियो। बिहीबार पुनः सपथको समय तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिकरूपमा बिरामी भएर काठमाडौं गएको कारण सपथ हुन सकेन।

प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किएमा प्रत्यक्षरूपमा उनलाई राजीनामा बुझाइनेछ, नत्र कार्यालयमै दर्ता गरिने चित्रकारले जनाएका छन्।

लामाको राजीनामा पछि नेकपा एमालेको समर्थनमा नेता इन्द्र बानियाँले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी भइरहेको छ। एक वर्षअघि भएको सत्ता साझेदारीको सहमति अनुसार बानियाँले अबको ८ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि, आगामी फागुनदेखि एमालेले सरकारको नेतृत्व गर्ने व्यवस्था रहेको एमालेले स्पष्ट गरिसकेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस