गंगटे–ढिकुरे–टोखा सडकले खोल्यो तरकारी व्यापारको नयाँ ढोका

नुवाकोट, ढिकुरे —
गंगटे–ढिकुरे हुँदै टोखा, काठमाडौं पुग्ने सडक विस्तार र सुधारसँगै नुवाकोटका ग्रामीण बस्तीहरूमा व्यापारिक चहलपहल उल्लेखनीय रूपमा बढेको छ।
सडकको सहज पहुँचले बारीमै कुहिने तरकारी तथा फलफूल अब राजधानीका विभिन्न बजारसम्म सिधै पुर्याउन सहज भएको छ। यसले स्थानीय किसानहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ।
विशेषगरी लिखु र शिवपुरी गाउँपालिकाका किसानहरूले उत्पादन गर्ने निउरो, फर्सीका मुण्टा, आलु, सागपात, गोलभेंडा, नास्पातीजस्ता अर्गानिक सामग्रीहरू ढिकुरे सडकमार्ग हुँदै सिधै काठमाडौं तथा अन्य शहरी बजारमा निर्यात भइरहेका छन्।
स्थानीय किसान भन्छन्,
“पहिले त बजार पुर्याउनै मुस्किल थियो। अब त सडक पेटीमै सामान बेच्न सकिन्छ। यही व्यापारबाट जीवन धान्न सहज भएको छ।”
सडकमा आएको सहजतासँगै काठमाडौंसहित देशका विभिन्न भागबाट मठ–मन्दिर दर्शन तथा घुमघाम गर्न आउने पर्यटकहरू पनि यहाँको ताजा अर्गानिक तरकारी सस्तो मूल्यमा पाउँदा खुसी देखिन्छन्।
एक पर्यटकले भने,
“यहाँ पाइने तरकारी त ताजा र स्वादिलो त छँदैछ, मूल्य पनि कति सस्तो! यो त सराहनीय अनुभव हो।”
सडक किनारमा खुलेका साना स्टल, होटल, चिया पसल र खुद्रा व्यवसायहरू पनि फस्टाउँदै गएका छन्। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेको छ।
सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख सुवोध कुमार देवकोटाका अनुसार,
“सडकको विकासले ग्रामीण क्षेत्रका आर्थिक गतिविधि बढाएको छ। अब यसलाई दीर्घकालीन बनाउन नियमित मर्मत, ढुवानी स्थायीत्व र बजार व्यवस्थापनमा नीति निर्माण आवश्यक छ।”
यो सबै परिप्रेक्ष्यमा हेर्दा गंगटे–ढिकुरे–टोखा सडक नुवाकोटका किसानहरूका लागि उत्पादन–वितरण–बिक्री को नयाँ अवसरको ढोका बनेको छ।
आत्मनिर्भरता, गाउँमै रोजगारी र आर्थिक समृद्धिको लक्ष्यमा यो सुधारले बलियो आधार निर्माण गरेको स्थानीयहरू बताउँछन्।
यसखाले ग्रामीण सडक विस्तारले कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई सम्बृद्ध बनाउने सम्भावना प्रस्ट देखिएको छ। अब राज्यको ध्यान दिगो पूर्वाधार र उचित नीति निर्माणमा केन्द्रित हुन जरुरी छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस