Techie IT
गृहपृष्ठसमाचारटिमुरे सडक अवरुद्ध, नेपाल–चीन व्यापारिक नाका ठप्प

टिमुरे सडक अवरुद्ध, नेपाल–चीन व्यापारिक नाका ठप्प


रसुवा, टिमुरे | गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र रसुवागढी क्षेत्र हाल बाढी र पहिरोका कारण अन्धकारमा छन्। गत मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेंसी–टिमुरे–रसुवागढी खण्डको सडक सम्पूर्ण रूपमा भत्काएपछि यातायात पूर्णरूपमा ठप्प भएको छ।

बाढीले ल्हेन्दे खोलास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशबीचको औपचारिक व्यापारसमेत ठप्प भएको छ। पुलसँगै दुईवटा सडक खण्ड पूरै बगेका छन् भने अन्य ठाउँमा चिरा परेको र भासिएको अवस्थामा छन्।

रसुवा भन्सार यार्डमा रोकिएका ५० मालवाहक सवारीमध्ये केहीको भन्सार प्रक्रिया सम्पन्न भइसकेको छ भने अन्यको भइरहेको छ। स्याउ, तयारी पोसाक, हाइड्रो उपकरणलगायत सामान बोकेका ती गाडीहरू सडक नभएकै कारण टिमुरेमै थन्किएका छन्।

भन्सार यार्डमा चिनबाट भित्रिएका सवारी पनि पहिरोले रोकिएको अवस्थामा छन्। सवारी भित्र्याएर टिमुरेमा थन्क्याइएका ३५ ट्रक भने चीनतर्फ फर्किन सकेका छैनन्।

भन्सार यार्डमा काम गर्ने ६१० स्थानीय मजदुर (टिमुरे, दाहाल फेदी र थुमन क्षेत्रका) को जीविकोपार्जन संकटमा परेको छ। सामान्य अवस्थामा गाडी लोड–अनलोड गर्न ८–१० हजार रुपैयाँसम्म पाइने मजदुरी असामान्य अवस्थामा ६०–८० हजार रुपैयाँ पुग्ने गर्छ। तर हाल व्यापार बन्द भएपछि काम नै ठप्प भएको नासु चण्डिराज गेलालले जानकारी दिए।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार बाढीले १ किलोमिटरजति सडक पूरै बगाएको छ। केही ठाउँमा पहिरोले सडक पूरै कटान गरेकाले तत्काल ट्र्याक बनाउने प्रयास भइरहेको छ।

इन्जिनियर टोली फिल्डमै छन्, र एक साताभित्र एकतर्फी सडक खुलाउने गरी काम अघि बढाइएको छ। लिङलिङ क्षेत्रमा पूर्णरूपमा पहिरोले सडक बगाएकाले त्यहाँ अलिक ढिलो हुने बताइएको छ।

स्थानीयवासी मीरा थापा मगरका अनुसार सदरमुकामसँग सम्पर्क विच्छेद हुँदा बालबालिकासँग भेटघाट, उपचार, खाद्यान्न ढुवानीलगायत सबै काम प्रभावित भएको छ। वडाध्यक्ष कामी छिरिङ तामाङले सरकारलाई नाका खोल्न र सडक सुचारु गर्न तत्काल पहल गर्न आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस