भोटेकोसीको बाढी वर्षाका कारण नभएको, हिमताल फुटेको आशंका

रसुवा — रसुवाको भोटेकोसी नदीमा मङ्गलवार बिहान आएको एक्कासि ठुलो बाढी वर्षाका कारण नभई अन्य प्राकृतिक कारणबाट आएको प्रारम्भिक निष्कर्ष जल तथा मौसम विज्ञान विभागले निकालेको छ। बिहान करिब ३ बजे पानीको सतह अचानक साढे तीन मिटरले बढेको भए पनि सो क्षेत्रमा उल्लेख्य वर्षा नभएको विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो।
नेपाल–चीन सीमावर्ती क्षेत्र नजिकै रहेको क्यान्जिङ र धुन्चे मौसमी केन्द्रहरूले पनि सो क्षेत्रमा फाट्टफुट्ट मात्रै वर्षा देखाएको उल्लेख गरिएको छ। यस्तै, पाल्पामा रहेको मौसम निगरानी राडारले समेत रसुवाको सीमावर्ती क्षेत्रमा पछिल्ला २४ घण्टामा वर्षा नदेखाएको विभागले जनाएको छ।
विभागले उपग्रह तस्बिरको सहायताबाट घटनाको अध्ययन सुरु गरेको छ। बाढीको कारणबारे थप जानकारी लिन विश्व मौसम संगठनको भूउपग्रह प्रणालीमार्फत निरीक्षण भइरहेको पराजुलीले बताउनुभयो।
भोटेकोसी नदीको माथिल्लो तिब्बती भूभागमा धेरै हिमतालहरू रहेका कारण तीमध्ये कुनै एक फुटेर आएको बाढी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यस बाढीको प्रभाव भोटेकोसी हुँदै त्रिशुली नदीसम्म परेको र हाल बाढीको प्रवाह घट्दो अवस्थामा रहेको विभागले जनाएको छ।
यस बाढीले हालसम्म १८ जनालाई बेपत्ता बनाएको छ भने सयौँ सवारी साधन र भौतिक पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ। विभागले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस