सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न

— नुवाकोट जिल्लाको लिखु गाउँपालिका सहितका चार स्थानीय तहमा सञ्चालन भैरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरूबीच बैदेशिक रोजगार सम्बन्धी जानकारी, चुनौती र समाधानका विषयमा गहन छलफल भएको थियो।
बैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउन सामीको प्रयास
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई जोखिममुक्त, मर्यादित र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सामीका सम्पर्क व्यक्ति दिपेन्द्र लामिछानेले श्रमिकहरू विदेश जाने प्रक्रियामा आवश्यक कानुनी, सामाजिक तथा आर्थिक जानकारी लिनुपर्ने आवश्यकता औंल्याउँदै भने,
“जाने हो भने बुझेर जानुहोस्, नभए जाने सोच राख्नुहुन्न। जानकारीको अभावमै धेरै नेपालीले विदेशमा दुःख पाइरहेका छन्। सामीले त्यस्ता जोखिम घटाउन निरन्तर जनचेतना र परामर्श प्रदान गर्दै आएको छ।”
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने प्रक्रिया, आवश्यक कागजातहरू, कानुनी परामर्श, रोजगारदाता कम्पनीसँगको सम्झौता, पारिश्रमिक, बीमा लगायतका विषयमा जानकारी दिइएको थियो। सामी कार्यक्रममार्फत परामर्श सेवा, पूर्व–प्रस्थान अभिमुखीकरण (pre-departure orientation), र पुनःएकीकरण सहायता (reintegration support) पनि प्रदान गरिँदै आएको जानकारी गराइयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा समूह, महिला संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय तथा मिडिया प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि समुदायमै आधारित प्रशिक्षण, विद्यालयस्तरमा आप्रवासन शिक्षा समावेश गर्ने, र गाउँगाउँमा मोबाइल परामर्श शिविर सञ्चालन गर्ने सुझावहरू पनि राखेका थिए।
कार्यक्रमको निष्कर्षमा सबै सरोकारवाला निकायहरूले सुरक्षित आप्रवासनलाई संस्थागत बनाउँदै लैजान साझा प्रतिबद्धता जनाएका थिए। उनीहरूले विदेश जानुपर्ने अवस्थालाई अन्तिम विकल्पका रूपमा हेर्नुपर्ने र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने विषयमा पनि जोड दिएका थिए।
कार्यक्रमका फोटोहरु
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस