दुर्गम नारीहरूको स्वास्थ्यमा नयाँ आशा : त्रिशूली अस्पतालमा निःशुल्क शल्यक्रिया शिविर सम्पन्न

ग्रामीण महिलाहरूको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने प्रयासस्वरूप त्रिशूली अस्पतालमा विशेष निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। आङ खस्ने समस्याबाट पीडित महिलाहरूको उपचारका लागि आयोजित तीनदिने शिविरले, स्वास्थ्य सेवामा पहुँचबाट बञ्चित महिलाहरूका लागि आशाको झिल्को बनेको छ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र त्रिशूली अस्पतालको संयुक्त समन्वयमा सञ्चालित उक्त शिविरमा भक्तपुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुरेन्द्र भट्टको नेतृत्वमा अनुभवी चिकित्सकहरूको टोली खटिएको थियो। टोलीले २७ महिलाको स्वास्थ्य परीक्षण गरी १९ जनाको सफल शल्यक्रिया गरेको जानकारी त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले दिए।
शिविर नजिकैको अस्पतालसम्म पुग्न नसक्ने महिला तथा आर्थिकरूपमा विपन्न वर्गका लागि प्रभावकारी सावित भएको छ। समयमै उपचार नपाएर लामो समयदेखि पीडा सहेर बस्नुपरेका महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन यो शिविर महत्वपूर्ण रह्यो।
स्वास्थ्य सेवालाई सबै वर्ग र भूगोलसम्म पुर्याउने सरकारी प्रयासको यो एक उदाहरण हो, जसले महिला सशक्तीकरण र लैङ्गिक समता तर्फको पाइला पनि प्रतिनिधित्व गर्छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस