घ्याङस्वारा पर्यटकीय पार्कमा ४३,००० चिया बिरुवा रोपण
रोजगारी र पर्यटन प्रवर्द्धनमा पञ्चकन्या गाउँपालिकाको दीर्घकालीन योजना

पञ्चकन्या गाउँपालिकाले घ्याङस्वारा पर्यटकीय पार्कमा चिया बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले हरियाली विस्तार, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ र उपाध्यक्ष विमला केसीको नेतृत्वमा आयोजित कार्यक्रममा रोजगार संयोजक सरोज केसी सरोवर, सूचना प्रविधि अधिकृत सुवास विक, वडा अध्यक्ष सञ्च तामाङ, प्राविधिक सहायक कपिल शाहलगायत जनप्रतिनिधि, कर्मचारी तथा सूचीकृत बेरोजगार युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा ११,००० चियाका बिरुवा रोपेपछि हालसम्म जम्मा ४३,००० बिरुवा रोपिएको छ। यसअघि ३२,००० बिरुवा रोपिएको थियो। चिया खेति मार्फत हरियाली वातावरण निर्माणसँगै उत्पादनको आधार तयार पारिएको गाउँपालिकाले जनाएको छ।
आगामी वर्षदेखि चिया उत्पादन सुरु भई प्रशोधन, प्याकेजिङ र बजारसम्मका प्रक्रियाले रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ। दीर्घकालीन योजना अनुसार चिया खेती र पर्यटनको समन्वयमार्फत घ्याङस्वारालाई पर्यटकीय हबको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
स्थानीय सीप विकास, रोजगारी र समृद्धिको नयाँ बाटो खोल्ने सम्भावना चिया खेती र पर्यटनको मेलबाट देखिएको गाउँपालिकाले जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस