रसुवाको बनुवाघुम्तीमा टिफर दुर्घटना

रसुवा — रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवाघुम्ती सडक खण्डमा आज बिहान एक टिफर अनियन्त्रित भई पल्टिएको छ। पहिरो नियन्त्रणको काम गरिरहेकै बेला उक्त ठुलो टिफर अचानक नियन्त्रण बाहिर गइ दुर्घटनामा परेको हो।
सौभाग्यवश, गाडीका चालक सकुशल रहेका छन् भने अन्य मानवीय क्षति नभएको जनाइएको छ।
हिजो दिउँसोदेखि यस क्षेत्रमा लगातार भीषण वर्षा भइरहेको थियो भने बिहानसम्म पनि सिमसिमे पानी परिरहेकाले सडकको सतह गलिसकेको अनुमान गरिएको छ। त्यसैकारण सडक कमजोर अवस्थामा रहेको र त्यही कमजोर अवस्थामा काम गर्दा सावधानी नअपनाउँदा दुर्घटना भएको स्थानीयवासीले बताएका छन्।
स्थानीयबासीहरूका अनुसार समयमै गुणस्तरीय योजना र व्यवस्थापन गरिएको भए यस्ता घटना रोक्न सकिन्थ्यो। तर प्रत्येक वर्षको असारमास लागेपछि मात्र हतारहतारमा निर्माणकार्य थाल्ने सरकारी निकाय र ठेकेदारहरूको प्रवृत्तिले सधैं सर्वसाधारणलाई सास्ती दिइरहेको जनगुनासो छ।
सडक निर्माण तथा मर्मतसम्भारमा दीर्घकालीन सोच, मौसमको पूर्वानुमान र भौगोलिक अवस्थाको मूल्यांकन नगरी गरिने कामले यस्ता दुर्घटनाको जोखिम अझ बढाउँदै लैजाने चिन्ता स्थानीयहरूमा बढ्दै गएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस