न्यायाधीश थारुमाथि इजलासमै कालो मसी प्रहार, तीन जना नियन्त्रणमा

आफूलाई नेकपा बहुमत पार्टीका कार्यकर्ता बताउने युवाहरूको एक समूहले उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा. खुसीराम थारुमाथि बिहीबार इजलासमै कालो मसी प्रहार गरेका छन्।
उच्च अदालत वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीका अनुसार, इजलास सकेर फैसला लेखिरहनुभएका न्यायाधीश थारुको कार्यकक्षमा ती युवाहरू जबरजस्ती प्रवेश गरी “भ्रष्टाचारी मुर्दावाद” र “बहुमत पार्टी जिन्दाबाद” नाराबाजी गर्दै मसी छर्केका थिए। घटनालगत्तै सुरक्षाकर्मीहरूले तीन जनालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको भण्डारीले जानकारी दिनुभयो।
रजिस्ट्रार भण्डारीले हाल सुरक्षा निकायसँग घटनाबारे छलफल भइरहेको बताउँदै घटना आपत्तिजनक र न्यायालयको गरिमाविपरीत भएको टिप्पणी गर्नुभयो।
प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरूले केही दिनअघि न्यायाधीश थारुको इजलासले नेपाली काँग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिएको फैसलाको विरोधस्वरूप मसी प्रहार गरिएको बताएका छन्। आलममाथि इँटा भट्टामा जिउँदै मानिस जलाएर हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो।
एक प्रत्यक्षदर्शीका अनुसार, युवाहरूले “जनताको विपक्षमा फैसला गरिएको” भन्दै बहुमत पार्टीको निर्णयअनुसार कारबाही गरेको दाबी गरेका थिए।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस