Techie IT
गृहपृष्ठसमाचारअहमदाबादमा लण्डन जाँदै गरेको विमान दुर्घटना: २४२ जनाको ज्यान गएको आशंका

अहमदाबादमा लण्डन जाँदै गरेको विमान दुर्घटना: २४२ जनाको ज्यान गएको आशंका


लण्डनका लागि उडेको एयर इन्डियाको एक यात्रुबाहक विमान भारतको अहमदाबाद शहरमा दुर्घटना हुँदा त्यसमा सवार २४२ जनाको ज्यान गएको विश्वास गरिएको छ।

एयर इन्डियाको उडान नम्बर १७१ बिहीबार उडान भरेको केहीबेरमै अहमदाबादको घना बस्ती भएको क्षेत्रमा खस्दा ठूलो क्षति भएको हो। विमानमा दुई पाइलट र १० चालक दलसहित २४२ जना सवार थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाले भारत मात्र नभई विश्वलाई नै स्तब्ध बनाएको भन्दै शोक व्यक्त गर्नुभएको छ। उहाँले दुर्घटनालाई “हृदयविदारक” भन्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले घटनास्थलमा जीवित कोही भेटिने सम्भावना निकै न्यून देखिएको बताउनुभयो। उहाँका अनुसार विमान घना आवासीय र कार्यालय क्षेत्रमाथि खसेकाले मृतकको संख्या अझै बढ्न सक्नेछ।

एक प्रत्यक्षदर्शीले भवनबाट मानिसहरू आफैंलाई बचाउन हाम फालेको दृश्य देखेको बताउँदै विमानमा आगो लागेको स्पष्ट देखिएको बताए।

भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडाली यात्रु थिए।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले घटनालाई “विनाशकारी” भन्दै पीडितप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

उड्डयन अधिकारीहरूले जनाएअनुसार उडान भरेपछि विमानले ‘मे डे’ सन्देश जारी गरेको थियो तर विमानस्थलको बाहिरी परिधिभित्रै दुर्घटनाग्रस्त भएको थियो।

८० लाखभन्दा बढी जनसंख्या भएको गुजरातको प्रमुख शहर अहमदाबादको व्यस्त विमानस्थल घना बस्तीबीच अवस्थित छ। विमान सिभिल अस्पताल र हर्स क्याम्प क्षेत्र नजिकै खसेको थियो।

स्थानीय पुनम पटनीले घटनास्थलमा थुप्रै शवहरू जलेको अवस्थामा फेला परेको बताइन्। भारतीय सुरक्षा निकायले सार्वजनिक गरेका तस्वीरहरूमा विमानको पछाडिको भाग भवनमा ठोक्किएको देखिन्छ।

आधिकारिक अनुसन्धान सुरु भइसकेको छ र उद्दारकार्य जारी रहेको छ।

Firefighters work at the site where Air India flight 171 crashed in a residential area near the airport in Ahmedabad on June 12, 2025. The London-bound passenger plane crashed on June 12 in India’s western city of Ahmedabad with 242 on board, aviation officials said in what the airline called a “tragic accident”. (Photo by Sam PANTHAKY / AFP)

क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस