भिजिट भिसा तस्करीमा संलग्न मुख्य योजनाकारलाई सफाइ, बिचौलियामाथि मात्रै दोषारोपण

काठमाडौं — सर्वसाधारणबाट पैसा असुली भिजिट भिसामा विदेश पठाउने गिरोहको मुद्दामा जिल्ला अदालत काठमाडौंले विवादास्पद फैसला सुनाएको छ। अदालतले गिरोहका मुख्य योजनाकार र अध्यागमन अधिकारीहरूलाई सफाइ दिँदै बिचौलियामाथि मात्र दोष देखाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउँदै गएको भिजिट भिसा तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नौ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध किर्ते र संगठित अपराध मुद्दा दायर गरेको थियो। तर अदालतले १४ मंसिर २०८१ मा सुनाएको फैसलामा केवल तीन जनालाई दोषी ठहर गर्दै बाँकी सबैलाई सफाइ दिएको हो। फैसलाको पूर्णपाठ १६ जेठ २०८२ मा सार्वजनिक भएको छ।
मुख्य प्रमाण उपेक्षा, बयानमा खुलेका तथ्य बेवास्ता
अनुसन्धानका क्रममा अध्यागमन अधिकारीहरू स्वयंले घूस लिएको, नक्कली कागजातमार्फत भिजिट भिसा प्रक्रियालाई ‘सेटिङ’मा अगाडि बढाएको स्वीकारेका थिए। अध्यागमन अधिकृत नरवीर खड्काले प्रतिव्यक्ति १० देखि ५० हजार रुपैयाँसम्म लिएर भिजिट भिसा सहज बनाउने काम गरेको बयानमा खुलाएका थिए। त्यही खड्कालाई २ लाख रुपैयाँसहित सिनामंगलको एक होटलबाट पक्राउ गरिएको थियो।
तर अदालतले यस्तो स्वीकृत बयान र बरामद प्रमाणलाई ‘अपर्याप्त’ भन्दै मुद्दामा संलग्न अन्य उच्च तहका कर्मचारी र ट्राभल एजेन्सी सञ्चालकलाई सफाइ दिएको हो।
फैसलामा प्रहरीको अधिकारसम्बन्धी प्रश्न उठ्यो
अदालतले घूस प्रकरणमा प्रहरीको होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्र पर्ने भन्दै प्रहरीको अनुसन्धानलाई अमान्य ठहर गरेको छ। यस्तै, मुद्दामा संगठित अपराधको कसुर पुष्टि नहुने भन्दै अदालतले भन्यो, “स्थायी संरचना बनाएर आपराधिक समूहले कार्य गरेको पुष्टि हुने प्रमाण पेस हुन सकेन।”
अख्तियारको अनुसन्धान अझै जारी
यसबीच अख्तियारले हालै मात्र अध्यागमन प्रमुखसहित चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूका मोबाइल, ल्यापटप र कागजातहरू फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। परीक्षण प्रतिवेदन भने हालसम्म आएको छैन।
यसअघि, १४ कात्तिक २०८० मा कुवेत जान लागेका दुई महिलालाई नियन्त्रणमा लिएपछि सुरु भएको अनुसन्धानमा अध्यागमनका नौ अधिकृत, ट्राभल एजेन्सी सञ्चालक, र नक्कली कागजात बनाउने बिचौलियाको संलग्नता देखिएको थियो। तर हालसम्म अधिकांश अभियुक्त सफाइ पाएका छन्।
सरकारी वकिल कार्यालय पुनरावेदन तयारीमा
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले फैसलाको पूर्णपाठ प्राप्त भएपछि उच्च अदालतमा पुनरावेदनमा जाने बताएका छन्। “फैसलाको पाठ आएपछि अध्ययन गरी पुनरावेदन गर्नेछौं,” उनले प्रतिक्रिया दिए।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस